काठमाडौं । दोस्रो सेयर बजारका लगानीकर्ताहरू अत्यन्त कम मात्र सक्रिय भएको देखिएको छ । पछिल्लो सयम लगानीकर्ता सक्रिय हुँदै गएपनि कुल बजार पुँजीकरणको तुलनामा कारोबार रकम भने अत्यन्त न्यून देखिएको नेपाल स्टक एक्सचेन्जको तथ्यांक छ ।
१८ खर्ब ५६ अर्ब रुपैयाँ पुँजीकरण भएको बजारमा गत आवमा दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । सेयर कारोबार पुँजीकरणको करिब ११ प्रतिशत मात्रै भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।
आव पुँजीकरणको तुलनामा कारोबार रकम (प्रतिशतमा)
२०७३/७४ ११.०४
२०७२/७३ ६.६८
२०७१/७२ ६.६०
२०७०/७१ ७.३१
२०६९/७० ४.२९
स्रोतः नेपाल स्टक एक्सचेन्ज
पाँच वर्षअघिसम्म ५ खर्ब १४ अर्बको बजार पुँजीकरण थियो । त्यतिबेला करिब ६ प्रतिशत सेयर कारोबार हुने गरेको थियो । पाँच वर्षमा बजारमा तीन गुणाले बृद्धि भएपनि सेयरको कारोबार भने सोही अनुसार बढ्न सकेको नेप्सेका निमित्त महाप्रवन्धक निरञ्जन फुयालले बताए ।\
केही वर्षअघिसम्म दोस्रो बजारमा कारोबार नहुने (सस्थापक) सेयरको संख्या ७० प्रतिशतसम्म थियो अहिले त्यो घटेर करिब ५५ प्रतिशतमा झरेको छ । गएको आवमा जम्मा १० अर्ब ६८ करोड रुपैयाँको मात्र संस्थापक सेयर कारोबार भएको छ ।
कुल बजार पुँजीकरणमध्ये १६ खर्ब ५१ अर्ब ८४ करोड मूल्य बराबरको सेयर कारोबारमै आएको देखिदैन । गएको वर्षमा दुई अर्ब कित्ता सेयर सूचिकृत भएकोमा ३९ करोड २८ लाख कित्तामात्रै सेयर किनबेच भएको छ ।
बजार पुँजीकरणको आधारमा सबैतिर बजार पहुँच नपुग्नु, पुगेको स्थानमा पनि आमलगानीकर्ता एक पटक किनेपछि लामो समयसम्म त्यतिकै होल्ड गरेर राख्नु लगायतका कारणहरू रहेका छन् । यदि सूचिकृत सेयरमध्ये बजारमा कारोबार गर्न मिल्ने ४५ प्रतिशत सेयर शतप्रतिशत दैनिक कारोबारमा जाने हो भने बजारको आकार अझ बढ्ने उनले बताए । विवेकशील मुलुकको बजारमा शतप्रतिशतभन्दा बढी कारोबार हुन्छ भने इमर्जिङ मार्केटमा ५० देखि ७० प्रतिशत सेयर कारोबार हुने गरेको फुयालको भनाइ छ ।