काठमाडौं । राजधानीको केन्द्र भृकुटीमण्डप हो भन्ने कुरा थाहा नहुने सायद कमै मानिस हुन्छन् । जसलाई प्रदर्शनी हल तथा त्यहाँको वरिपरीको चौर, बगैँचा आदि स्थानले समेटेको छ । भृकुटीमण्डपमा बर्षेनी १५ देखि २० वटा मेला हुने गरेका छन् ।

वि.सं २०५७ सालमा हिमालयन एक्स्पो सञ्चालनमा आएपछि प्रदर्शनी हलको प्रयोग गरेर अन्य मेला पनि सञ्चालन गर्ने क्रम सुरु भएको बताउँछन् भृकुटीमण्डप सञ्चालन कार्यलयका लेखा अधिकृत रमेश अर्याल ।
साथै, यस कार्यालयले हल र ठाउँको मात्र उपलब्धता गराउने गरेको उनले जानकारी दिए । भृकुटीमण्डपको प्रदर्शनी हलमा ५ देखि १० दिनको अन्तरालमा मेलाहरु सञ्चालन हुने गरेका छन । साथै, एउटै मेला बढीमा ७ दिनसम्म पनि लाग्ने गरेको भृकुटीमण्डप सञ्चालन कार्यलयले जनाएको छ । कुनै पनि कार्यालय तथा संघ संस्थाले मेलाकोे लागि बुकिङ्ग गर्दा परिषद्ले तोकेको रकम तिर्नुपर्ने व्यवस्था रहेको छ ।
कति छ भाडा दर ?
भृकुटीमण्डपको मुल प्रदर्शनी हलको भाडा प्रति दिन १ लाख ५० हजार तिर्नुपर्र्छ । बगैँचाको लागि ६० हजार, गेट संगैको चौरको भाडा २० हजार तिर्नु पर्ने व्यवस्था छ । भृकुटीमण्डप सञ्चालन कार्यालयले प्रदर्शनीहरुबाट मात्रै बार्षिक ३ करोड ६२ लाख आम्दानी गर्छ । गत आर्थिक बर्षमा सो मात्रामा आम्दानी गरेको हो ।
प्रदर्शनी स्थल बुकिङ्ग गर्दा १० दिन अघि नै सम्झौता गरेर ३० प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्छ ।
यसको मुल प्रदर्शनी हल ३५ हजार स्क्वायर फिटमा फैलिएको छ । नाडा अटो शो, इक्यान, क्यान इन्फोटेक, ल्याण्ड हाउजिङ एक्स्पो लगायतका मेलामा धेरै अवलोकन कर्ता आउने गरेका छन् । क्यान इन्फोटेक, हाउजिङ एक्स्पो, नाडा, अन्तराष्ट्रिय व्यापार मेला जस्ता मेलालाई अन्तराष्ट्रियस्तरको प्रदर्शनीका रुपमा हेर्ने गरिएको छ । प्रदर्शनीस्थलमा पार्किङ्ग समस्या देखिन्छ ।
कमजोर पुर्वाधार र व्यवस्थापन
प्रदर्शनी केन्द्रमा व्यवस्थित पुर्वाधारको पनि चरम अभाव छ । तर उपत्यका भित्रको खाली सरकारी जमिनलाई जोगाउने गृह मन्त्रालयको सोचको कारण थप पुर्वाधार बनाउन भने पाएको छैन् । ‘गृह मन्त्रालयले भृकुटीमण्डपमा कुनै पनि पक्कि घर नबनाउन निर्देशन दिएको छ, त्यसैले व्यवयस्थित पुर्वाधार बनाउन पाएका छैनौं’, कार्यलयका अधिकृत रमेश अर्याल भने ।
क्षेत्रफल विस्तारको तयारी
प्रदर्शनी हलको क्षेत्र बढाउन कार्यलयले घुम्ति तथा नाङ्ले पसल हटाएर रिपोर्टर्स क्लबको चउरमा स्थानान्तरण गर्ने जनाएको छ ।