काठमाडौं । नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा भारतले आँखा लगाएको छ । नेपालले धौवादी फलाम खानीबाट निकालेको नुमना परिक्षणका लागि आग्रह गर्दा भारतले उत्खनन र व्यवसायीक सम्झौता पनि एकै पटक गर्नुपर्ने सर्त अघि सारेको हो । खानी तथा भुगर्भ बिभागले एक बर्ष अघि नै भारतको नेशनल मेटालर्जिकल लेबोरेटोरिजलाई धौवादीबाट निकालिएको फलामको मेटालर्जिकल टेष्ट गरिदिन पत्र पठाएको थियो ।
तर भारत सरकारको स्वामित्वको सो कम्पनीले नेपालसँग मेटालर्जिकल टेष्टको सर्तका रुपमा सो फलाम खानीको उत्खनन गर्न पाउनुपर्ने सर्त अघि सारेको हो । ‘हामीले मेटालर्जिकल टेष्टका लागि पत्र पठाउँदा उसले उत्खननकै जिम्मा दिनुपर्ने सर्त अघि सार्यो, हाम्रा खानीहरु भारतले कब्जा गर्न सक्ने सम्भावना देखेपछि हामी पछि हट्यौं र अहिले पैसा तिरेरै टेष्ट गर्ने योजना अघि बढेको छ’, खानी विभागका एक अधिकारीले भने ।
बिभागले टेष्टका लागि आग्रह गर्दा भारतले खानीमै आँखा लगाएपछि बिभागले पैसा तिरेरै टेष्ट गर्न लागेको हो । ‘हामीले टेष्टमा सघाउनुस भन्दा उनीहरुले खानी नै दिन भने र अन्य खानीहरुको पनि व्यवसायीक सम्झौताका लागि आग्रह गरे’, विभागका ती अधिकारीले भने । विभागले यतिबेला धौवादी फलाम खानीलाई भारतीय कब्जाबाट जोगाउन ७५ लाख खर्चेर मेटालर्जिकल टेष्ट गराउन अघि सरेको हो । १० किलोमिटर लम्बाई र ३० देखि ३५ मिटर चौडाईमा फैलिएको धौवादी फलाम खानीमा बिभागले १०६ मिटरसम्म ड्रिल गरेर फलामको नमुना संकलन गरिसकेको छ ।

बिभागले गरेको केमिकल टेष्टमा ३० देखि ५० प्रतिशत फलाम हुनसक्ने देखिएको छ । ‘हामीले गरेको केमिकल टेष्टमा ५० प्रतिशतसम्म फलाम हुन सक्ने तथ्य बाहिर आएको छ, कुन गुणस्तरको फलाम हो भन्ने तथ्य भने मेटालर्जिकल टेष्टबाट मात्रै थाहा हुन्छ’, विभागका महानिर्देशक राजेन्द्र खनालले भने । पुर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले भने धौवादीको फलामको मेटालर्जिकल टेष्टका लागि भारतको मात्रै भर पर्नु उचित नहुने बताए । उनले भारत, चीन र तेश्रो मुलुकमा समेत टेष्टका लागि नमुना पठाउनुपर्ने बताए । ‘हामीसँग आफ्नै मेटार्लजिकल टेष्ट ल्याब छैन, भारतको मात्रै भर पर्नु हुन्न, केहि नमुना भारतमा, केहि चीनमा र केहि तेश्रो मुलुकमा पठाउर टेष्ट गर्नुपर्छ’, पाण्डेले भने ।
तर खानी विभागका उप महानिर्देशक राम प्रसाद घिमिरेले भने शुल्क तिरेर भारतमै धौवादी खानीको फलामको मेटालर्जिकल टेष्ट गरिने बताए । तर खानीमा भारतीय एकाधिकार भने कायम हुन नदिने पनि उनले स्पष्ट पारे । ‘भारतीय ल्याब मै टेष्ट गर्छाै, टेष्टको शुल्क आफैं तिर्छाै आवश्यक प्रक्रिया पुर्याएर उत्खनन गर्छाै’, उप महानिर्देशक घिमिरेले भने ।