काठमाडौं । केही दिनयता नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि १ डलर बराबर १०२ रुपैयाँ ९५ पैसा तोकेको छ । केही साताअघि १ डलर बराबर १०४ रुपैयाँ थियो । भारतीय रुपैयाँ मजवुत भएपछि यसको सकरात्मक प्रभाव नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु मजवुत हुन साथ नेपाली रुपैयाँ पनि बलियो हुने गरेको छ ।
रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सोमबार १ डलर बराबर ६४ भारु तोकेको छ । डलर मजवुत हुदै गएपछि १ डलर बराबर ६९ भारुसम्म पुगेको थियो ।
गत मंसिरमा डलर मजवुत भएपछि १११ रुपैयाँसम्म पुगेको थियो । पछिल्ला महिनामा निरन्तर डलर कमजोर हुदै गएको छ । गत पुससम्म १ डलर बराबर औसत १०६ रुपैयाँ ३५ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३ रुपैयाँ १२ पैसा थियो ।
डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत जेठसम्म उपभोक्ता मूल्यवृद्धि ३ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम भएको छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
डलर मजवुत हुदा निकासीकर्ता र रेमिटेयान्स पठाउनेलाई फाइदा हुन्छ ।