काठमाडौंका दुई रुटमा मोनो रेल बनाउन सिफारिस, प्रति किलोमिटर साढे पाँच अर्ब लागत

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगले काठमाडौंका दुई वटा रुटमा मोनो रेल बनाउन सिफारिस गरेको छ । योजना आयोगको पूर्वाधार हेर्ने सदस्य प्राध्यापक हिरेन्द्र मान प्रधानको अध्ययन समितिले कलंकी, त्रिपुरेश्वर, बानेश्वर, तिनकुने हुँदै एयरपोर्टसम्म र महाराजगञ्ज, रत्नपार्क, जावलाखेल, लगनखेल हुँदै सातदोबाटोसम्म सञ्चालन हुने गरि २ वटा रुटमा मोनो रोलको डिपिआर निर्माणको प्रक्रिया अघि बढाउन सिफारिस गरेको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगले काठमाडौंका दुई वटा रुटमा मोनो रेल बनाउन सिफारिस गरेको छ । योजना आयोगको पूर्वाधार हेर्ने सदस्य प्राध्यापक हिरेन्द्र मान प्रधानको अध्ययन समितिले कलंकी, त्रिपुरेश्वर, बानेश्वर, तिनकुने हुँदै एयरपोर्टसम्म र महाराजगञ्ज, रत्नपार्क, जावलाखेल, लगनखेल हुँदै सातदोबाटोसम्म सञ्चालन हुने गरि २ वटा रुटमा मोनो रोलको डिपिआर निर्माणको प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो ।

‘१ नम्बर र २ नम्बर रुटमा मोनो रेल निर्माण गर्न सकिने सम्भावना देखियो, डिपिआर निर्माणका लागि नीतिगत निर्णय गर्न र मोनो रेल निर्माणका लागि वित्तिय श्रोत जुटाउनका लागि बृहत छलफल अघि बढाउन सुझाव दिएका छौं’, अध्ययन समितिका संयोजक तथा योजना आयोगका सदस्य प्राध्यापक हिरेन्द्र मान प्रधानले विकासन्युजँसग भने । यात्रु आवागमन, सडक पुर्वाधार र लगानी उठाउने सम्भावना लगायतका पक्षको आधारमा ती दुई रुटमा मोनो रेल निर्माण गर्न सकिने निष्कर्षमा पुगिएको प्रधानले बताए ।

जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका), कोरियाली कम्पनी र रेल विभागले यस अघि गरेका सम्भाव्यता अध्ययनहरुलाई समेटेर प्रधान नेतृत्वको समितिले रिपोर्ट तयार पारेको हो । समितिले रिङ रोडमा भने मोनो वा मेट्रो दुबै रेल निर्माण गर्ने सम्भावना नभएको निष्कर्ष पनि निकालेको छ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले पनि मेट्रो रेल, मोनो रेल र फ्लाई ओभर निर्माणबारे अध्ययन थालेपछि आयोगले दुबै महानगरका प्रमुखलाई बोलाएर छलफल पनि गरिसकेको छ ।‘पुर्वाधार निर्माणका कार्यक्रममा डुब्लिकेशन नहोस भनेर दुबै महानगरका प्रमुखसँग छलफल गरेका छौं, अब कार्यक्रममा डुब्लिकेशन हुँदैन, मेट्रो वा मोनो रेल जे बनाउने हो त्यसको एकिकृत रोडम्याप अनुसार काम हुन्छ’, प्रधानले भने ।

सम्भाव्यता अध्ययनका क्रममा मोनो रेलको निर्माण लागत प्रति किलोमिटर साढे पाँच अर्ब(५१.५३ मिलियन डलर) लाग्ने प्रक्षेपण गरिएको छ । प्रति घण्टा ८० किलोमिटर दौडने सो मोनो रेलमा रबरबो टायर प्रयोग हुनेछ । मोनो रेलको एउटा प्याक्स(कार)ले प्रतिदिन ३० हजार यात्रु बोक्न सक्नेछ । १ नम्बर रुटको मोनो रेलले सन २०१९ मा दैनिक एक लाख ५८ हजार यात्रु पाउने प्रक्षेपण गरिएको छ भने सन २०४९ मा पुग्दा त्यो संख्या बढेर २ लाख ८१ हजार पुग्ने अनुमान छ ।

२ नम्बर रुटको मोनो रेलले भने सन २०१९ मा १ लाख १६ हजार यात्रु पाउनेछ भने त्यो संख्या सन २०४९ मा पुग्दा २ लाख ८३ हजार हुने अनुमान छ ।
१ नम्बर रुट १२ दशमलब १० किलोमिटरको हुनेछ भने २ नम्बर रुटको लम्बाई ११ दशमलब १५ किलोमिटर हुनेछ । आयोगले तयार पारेको रिपोर्टलाई लगानी बोर्डमा पठाइनेछ । लगानी बोर्डले त्यसलाई मन्त्रि परिषदमा लगेर डिपिआर निर्माणको प्रक्रिया अघि बढाउनेछ ।

Share News