रत्ननगर (चितवन) । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण जनताले पाएको सास्तीप्रति चिन्ता व्यक्त गरेका छन्। साे सडकखण्डको आज स्थलगत निरीक्षण गर्दै उनले पहिरोले जनतालाई सधैँ पीडित बनाइ रहेको हुँदा यसलाई सदाका लागि अन्त्य हुनेगरी काम गर्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले कुनै पनिबेला पहिरो खस्ला भन्ने डरलाग्दो अवस्था आएको उल्लेख गर्दै ‘बाटोमा कुनै बेला पनि पहिरो आइदेला भन्ने जस्तो डरलाग्दो स्थिति छ, सालसालै पहिरो आउला भन्ने खतरा भयो, अब यो बाटोमा पूरा अध्ययन गरेर पहिरो आउने खतरा सदाका लागि बन्द गर्नुपर्छ, कसरी हुन्छ, यो चौबिसै घण्टा खुला हुने बनाउनुपर्यो,” भने।
चितवनको आँपटारीदेखि करिब २० किलोमिटर क्षेत्र सेती दोभानसम्म स्थलमार्गबाट अनुगमन गरेका प्रधानमन्त्री देउवा सेती दोभान पुग्दा केही समय अघि मात्रै पहिरो खसेको थियो । त्यसको केही परसमेत पहिरो खसेको जानकारी आएपछि प्रधानमन्त्री देउवालाई सेती दोभानबाट अघि जान सुरक्षा निकायले दिएन ।
सुरक्षा निकायले रोक्दारोक्दै पनि प्रधानमन्त्री देउवाले खै-खै पहिरोसम्म जाउ भन्दै अघि बढेका थिए । त्यसपछि उनले अध्ययन गरेरै पहिरो सदाकालागि अन्त्य गर्न सम्बन्धीत निकायलाई निर्देशन दिए । अनुगमनमा प्रधानमन्त्री देउवासँगै भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायर तथा मन्त्रायलका सचिव देवेन्द्र कार्की, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरे, सडक डिभिजन कार्यालय तथा नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुखसहित अधिकारीहरुको सहभागिता थियो ।
सो अवसरमा मन्त्री बलायरले सडक निर्माण समयमै सक्न कडा निर्देशन दिएको बताउँदै सडकको समस्या सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘जहिले पनि यो बाटो अवरुद्ध हुँदैआएको छ, यो सदाका लागि अन्त्य हुनुपर्छ’, उहाँले भने, “ यसप्रति मन्त्रालय सजक छ, स्थायी रुपमा समस्या समाधान गर्न मन्त्रालय सदा चिन्तित छ, यो समस्या जनताले भोग्नु नपरोस् भन्नेतिर नै ध्यान गइरहेको छ ।”
हेलिकप्टरबाट चितवनको भरतपुरस्थित आँपटारीमा आएका प्रधानमन्त्री देउवासहितको टोली सेतीदोभान पुग्नुअघि करिब १३ किलोमिटर मुग्लिनतर्फ दासढुंगामा आयोजित सार्वजनिक कार्यक्रममा पनि सरिक भए । नारायणगढ मुग्लिक सडक आयोजना तथा ठेकेदार पक्षले सडकको वर्तमान अवस्था तथा प्रगतिको बारेमा जानकारी गराएपछि प्रधानमन्त्री देउवाले सडकमा जनताले दुख पाएकोमा भन्दै काम छिटोसक्न निर्देशन दिए।
छलफलमा भौतिक योजना तथा पूर्वाधारमन्त्री बलायरले मुग्लिन सडक अहिले मन्त्रालयलाई सबैभन्दा ठूलो चुनौतीको रुपमा खडा भएकाले अप्ठ्यारो ठाउँलाई देखाएर नबस्न निर्माण कम्पनीलाई आग्रह गरे। सो अवसरमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले पुल र सडकको निर्माणको काम सँगसँगै नगरेकोमा चिन्ता व्यक्त गर्दै शर्तअनुसार काम नभए कारबाही र जरिवाना तथा राम्रो काम गर्नेले पुरस्कार पाएको सुन्न नपाएको भन्दै दुखेसो गरेका थिए ।
नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले प्रगतिविवरण प्रस्तुत गर्दै अहिलेसम्म ५३ प्रतिशत मात्रै काम सम्पन्न भएको जानकारी गराए । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले कुल १० महिना भन्दा बढी म्याद नथपिने जानकारी दिँदै त्यसपछि थप्नुपरे जरिवाना लाग्ने चेतावनी दिए ।
उनले आगामी चैतसम्ममा कामसक्ने विश्वास व्यक्त गर्नुहुँदै पहिरो रोकथामका लागि नेपालकै विज्ञसमूह परिचालन गरिएको जानकारी गराएका थिए । ठेकेदारका पक्षबाट लामा कन्ट्रक्सनका पिताम्बर बडूले कावु भन्दा बाहिरको परिस्थितिले गर्दा काममा अवरोध आएको भन्दै दिनमा चार घण्टा पनि राम्ररी काम गर्न नपाएको गुनासो गरेका थिए।