काठमाडौं । त्रिभूवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागमा कार्यरत प्राध्यापकले जेष्ठ नागरिकहरुको हितका लागि करिब पाँच करोड बराबरको सम्पत्ति दान गरेका छन् । प्रा.डा. रुद्रप्रसाद गौतमले किर्तिपुर नगरपालिका वडा नं.–१ ट्याङलाफाटमा रहेको आफ्नो एक रोपनी जग्गामा निर्मित साढे तीन तल्ले भवन रुद्रान्जु प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् ।
दाता प्रा.डा. रुद्रप्रसाद गौतमले उक्त घरजग्गाको धनि पूर्जा प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण दाहाललाई आफ्नी धर्म पत्नी अन्जुको प्रथम पून्य तिथीको अवसरमा आज आयोजित समारोहकाबीच हस्तान्तरण गरेका छन् । गौतम र उनकी धर्मपत्नी स्वर्गीय अन्जु गौतमको नाममा स्थापित उक्त प्रतिष्ठानले जेष्ठ नागरिकहरुको हितका लागि कार्य गर्नै गरी सञ्चालनमा आएको बताइएको छ ।
उक्त घरजग्गाको मूल्य पाँच करोड बराबरको रहेको प्रतिष्ठानका अध्यक्ष दाहालले बताए । त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक गौतम प्रतिष्ठानको प्रमुख संरक्षक समेत रहेका छन् । उनले आफुले गरेको दानले जेष्ठ नागरिकहरुका लागि केही सहयोग पुग्ने धारणा राखेका छन् ।
प्रतिष्ठानको उद्घाटन गर्दै किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले प्रा.डा. गौतमले गरेका योगदानको खुलेर प्रशासा गर्दै समाजमा यस्तै उदाहरणीय कार्य गर्न सके जेष्ठ नागरिकको सच्चा सम्मान हुने बताए । साथै उनले नगरपालिकाले उक्त प्रतिष्ठानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। मेयर महर्जनले उक्त समारोहका प्रमुख अतिथि ९५ वर्षीय जयलाल ज्ञवालीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।