काठमाडौं । चालु आर्थिक वर्षको साउन १० गतेसम्म तीन खर्ब ३३ अर्बको निक्षेपकर्ताको निक्षेप सुरक्षण भएको छ । उक्त अवधिमा निक्षेप तथा कर्जा सुरक्षण कोषमा एक करोड ३५ लाख ७३ हजार निक्षेपकर्ताको निक्षेप सुरक्षण भएको कोषका नायव महाप्रवन्धक विष्णुबाबु मिश्रले बताए । कोषले सो अवधिमा १८ करोड ७१ लाख निक्षेप सुरक्षण शुल्क संकलन भएको छ ।
कोषमा एक वर्षको अविधिमा ६२ अर्बले निक्षेप सुरक्षण बढेको छ । अघिल्लोे आर्थिक वर्ष २०७२/७३ मा ३ खर्ब १९ अर्ब रुपैयाँको निक्षेप सुरक्षण भएकोमा गएको आवमा सो निक्षेप सुरक्षण बढेर कोषमा ३ खर्ब ८१ अर्ब रुपैयाँ सुरक्षण भएको थियो । अघिल्लो वर्षको तुलनामा वित्तीय संस्थाको संख्या घटेपनि सुरक्षण रकम भने बढेको मिश्रले बताए ।
अघिल्लो आवको अन्त्यसम्म कोषमा निक्षेप सुरक्षण गर्ने बैंक तथा वित्तीय संस्थाको संख्या एक सय ५० वटा रहेकोमा गएको वर्ष एक सय १५ मा सीमित भएको छ । अघिल्लो आवमा एक करोड ३६ लाख निक्षेपकर्ताको खातामा रहेको दुई लाखसम्मको रकम सुरक्षण गरिएकोमा हाल सो संख्या बढेर एक करोड ५३ लाख पुगेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ को दफा १९ मा कोषले प्रत्येक सुरक्षित सदस्य संस्थामा खोलिएका प्राकृतिक व्यक्तिको निक्षेप बैंक तथा वित्तीय संस्था डुबेमा प्रतिव्यक्ति प्रतिबैंक दुई लाख रुपैयाँ फिर्ता पाउने व्यवस्था गरिएको छ । सुरक्षित निक्षेप रकमको मूल्यांकन गर्दा निक्षेप खातामा रहेको साँवा र सोमा आर्जित ब्याजसमेत गणना गरिने कोषका नायव महाप्रवन्धक विष्णुबाबु मिश्रले जानकारी दिए ।
कोषमा निक्षेप सुरक्षण गर्नेमा सबैभन्दा बढी ७९.६१ प्रतिशत हिस्सा वाणिज्य बैंकको छ । २८ वटा वाणिज्य बैंकले असारमसान्तसम्म एक करोड २१ लाख ४३ हजार दुई सय आठ निक्षेपकर्ताको तीन खर्ब चार अर्ब दुई करोड रुपैयाँ निक्षेप सुरक्षण गरेको छ । अघिल्लो आवमा ३० वटा वाणिज्य बैंकका एक करोड १ लाख ८६ लाख निक्षेपकर्ताको २ खर्ब ४४ अर्ब निक्षेप सुरक्षण भएको छ ।
यस्तै, ५३ विकास बैंकमा खाता खोल्ने २७ लाख ५३ हजार ६ सय २४ निक्षेपकर्ताको ६७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप सुरक्षण गरिएको छ । यो रकम कुल निक्षेप रकमको १७.९८ प्रतिशत हो । अघिल्लो ७३ वटा वाणिज्य बैकले २४ लाख ५१ हजार खातावालाको ६० अर्ब १९ करोड निक्षेप सुरक्षण गरको छ ।
३२ वित्त कम्पनीले हालसम्म तीन लाख ८३ हजार दुई सय ५७ निक्षेपकर्ताको नौ अर्ब १९ करोड रुपैयाँ निक्षेप सुरक्षण गरेका छन् । यो रकम कुल निक्षेप रकमको साढे प्रतिशत हो । अघिल्लो वर्ष ४५ वटा वित्त कम्पनीले ६ लाख ३६ हजार निक्षेपकर्ताको १२ अर्ब ६८ करोड निक्षेप संकलन गरिएको मिश्रले जानकारी दिए ।साथै दुईवटा लघुवित्तका ३८ हजार सात सय २६ निक्षेपकर्ताका ७२ करोड ७१ लाख रुपैयाँ निक्षेप पनि सुरक्षण गरिएको छ । त्यसरी दुई वटा लघुवित्त बैंकले तीन लाख ३२ हजार खाताको २२ अर्ब ४१ करोड निक्षेप संकलन गरेको छ ।