काठमाडौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सरकारले अघि बढाउने बताएका छन् ।
नेपाली काँग्रेस, भोजपुर–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले भने – “अरुण तेस्रो आयोजनाको निर्माण कार्य चाडै नै अगाडि बढाउने दिशामा सरकार अग्रसर भएको छ ।”
अरुण तेस्रो आयोजना प्रारम्भ भएपछि त्यसबाट अर्बमा हैन खर्बको लगानी मुलुकमा भित्रने बताउँदै “मुलुककै अर्थतन्त्रलाई राष्ट्रिय रुपमा दिगो प्रभाव पार्ने तीन आयोजना अरुण तेस्रो, माथिल्लो कर्णाली र तामाकोशी आयोजना बनेका थिए, तीमध्ये क्षेत्रीय र सन्तुलित विकासका दृष्टिोकणले महत्व बोकेका अरुण र कर्णाली आयोजना दश वर्षदेखि अलमलिएको अवस्थामा छन्, अब ती आयोजनालाई अहिलेको सरकारले गति दिदँैछ,” अर्थमन्त्री कार्कीले भने ।
अरुण तेस्रो आयोजना कार्यान्वयन गर्नसकेको खण्डमा पूर्वाञ्चलको मात्र नभइ मुलुककै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गर्दै उनले लगानी बोर्ड र भारतीय सरकारको स्वामित्वको सतलज जलविद्युत् कम्पनीबीच– ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना विकास सम्झौता (पीडिए) भइसकेको जानकारी दिए ।
संखुवासभा र भोजपुरको सिमानामा पर्ने उक्त आयोजनाको कुल अनुमानित लागत रु एक खर्ब चार अर्ब लाग्ने बताइएको छ ।
वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आफ्नो पुर्खौली जन्मथलो भोजपुरको समग्र विकासका लागि आफू सदैव सक्रिय रहने बताउँदै सुनसरीको धरान–चतारादेखि भोजपुरसम्मको सिधा सडक बाटो जोड्नसके भोजपुरको समृद्धिको बाटो खुल्ने र यसका लागि सबै पक्षको पहल चाहिने खाँचो औँंल्याए।
भोजपुरको उत्तरी क्षेत्रमा उत्पादन हुने पवित्र रुद्राक्षको आधिकारिक व्यापारका लागि नेपालबाट निर्यात हुने वस्तुको सूचीमा रुद्राक्षलाई सूचीकृत गरिने बताउँदै उहाँले अन्तर्राष्ट्रिय व्यापारका लागि यहाँ प्रशोधन केन्द्र बनाएर यसको गुणस्तरीय उत्पादन, प्रशोधन र बजारीकरण गरिने जानकारी दिए।
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले भोजपुर र सुनसरी जोड्नेगरी रुद्राक्षको व्यापार प्रवद्र्धन गर्ने वाणिज्यमन्त्रीको काम प्रशंसनीय रहेको र यसले जिल्लाको विकास र छविलाई उचो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री उमेशजंग रायमाझी, भोजपुर सडानन्द नगरपालिकाका प्रमुख वीरबल राई र नेत्री लक्ष्मी राईले पार्टीलाई एकताबद्ध बनाई जिल्लाको विकास र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए।
सो अवसरमा समितिले भोजपुर जिल्लाबाट मन्त्री बन्नुभएका अर्थमन्त्री कार्की र वाणिज्यमन्त्री विश्वकर्मा तथा भोजपुर नगरपालिकाका विजयी प्रमुख कैलाश आले, षडानन्द नगरपालिकाका प्रमुख वीरबल राई, अरुण गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर कार्कीलगायतलाई सम्मान गरिएको छ । रासस