काठमाडौं । ‘मसँग चिनियाँ राजदुतले भेटेर भैरहवा विमानस्थलको ठेक्का नतोड्न आग्रह गर्नु भयो, मैले हामी दुई छिमेकी भारत र चीनसँगको सम्बन्ध बिगार्न चहाँदैनौं भनेँ, तर भैरहवा विमानस्थलको काममा २ महिनाभित्र प्रगति भएन भने चुप लागेर बस्न सकिन्न’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवको बयान हो यो । उनले भैरहवा विमानस्थलमा पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता झलनाथ खनालका छोराका कारण चिनियाँ कम्पनीसँगको ठेक्का तोड्नुपर्ने अवस्था आएको बताए ।
झलनाथ खनालको नाम नलिई उनले भने–निर्भिक खनाल, राजु गुरुङ र फुर्वा शेर्पाले भैरहवा विमानस्थलमा निर्माण सामग्री सप्लाई गर्ने सम्झौता चिनियाँ कम्पनीसँग गरेका रहेछन्, ठेकेदार र उनीहरुको सम्बन्ध बिग्रिएपछि अहिले काम द्रुतगतिमा अघि बढ्न सकिरहेको छैन, उहाँहरुले धर्नादेखि अवरोधका गतिबिधी गरिहनु भएको छ ।’
उनले भैरहवा विमानस्थलका कारण चीनसँगको सम्बन्धमा असर पर्न सक्ने तर्फ पनि संकेत गरे ।‘भैरहवा विमानस्थलको ठेक्का नतोडिदिन चिनियाँ राजदुतले नै अनुरोध गर्नु भएको छ, तर उहाँको कम्पनीले निर्माण सामग्रीको अभाव र स्थानिय समस्याका कारण कामै गर्न सकिरहेको छैन, हामी चुप लागेर बस्ने अवस्था छैन’, मन्त्री देवले भने । उनले भनेको निर्माण सामग्रीको अभाव र स्थानीय समस्या चाँही झलनाथ खनालका छोरा निर्भिक खनाल, राजु गुरुङ र फुर्वा शेर्पाले सृजना गरेका हुन् ।
उनले निर्माण स्थलमा हाल दैनिक १०० कामदार मात्रै कार्यरत रहेको बताउँदै त्यो संख्यालाई बढाएर २५० पुर्याउन आग्रह गरेको पनि जानकारी दिए । ‘कामदारको संख्या बढाउनुस, मेसिन र उपकरण थप्नुस, २ महिना भित्र काममा केहि प्रगति गरेर पुरै काम गर्ने कार्ययोजना ल्याउनुस भनेको छु’, मन्त्री देवले भने । सन २०१८ को जुनमा सम्पन्न हुनेपर्ने आयोजनामा हालसम्म जम्मा ३० प्रतिशत मात्रै काम भएको छ ।
बुटवलका स्थानिय बासिन्दा समेत रहेका राजु गुरुङ, झलनाथ खनालका छोरा निर्भिक खनाल र फुर्वा शेर्पाको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका नामबाट भैरहवा विमानस्थलमा निर्माण सामग्री सप्लाई गर्दै आएको थियो । भैरहवा विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनसँगको ठेक्का तोडिएमा चिन र नेपाल बिचको सम्बन्धमै समस्या आउन सक्ने तर्फ मन्त्रि देव सचेत देखिएका हुन् ।