काठमाडौं । सरकारले कृषि योग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूत गर्न तथा भूमिलाई खन्डिकरण हुनबाट रोक्न कृषियोग्य जमिनको प्लटिङ गर्न रोक लगाएको भूमिसुधार तथा व्यवस्था सचिव कृष्णप्रसाद देवकोटाले बताए । मन्त्रालयले भूमिसुधार ऐन २०२१ ले प्रत्यायोजन गरेर अधिकारको प्रयोग गर्दै निर्देशिकका जारी गरी कृषियोग्य जमिनमा प्लटिङ रोकेको हो ।

अहिले देशभरिका सुगमस्थानहरूमा जग्गा प्लटिङ गर्न पाउने व्यवस्था छ । जग्गा प्लटिङका कारण कृषि योग्य जमिन मासिदै गएको र सो कारण कृषि उत्पादन घटेको र ठूलो मूल्यको कृषि वस्तु समेत आयात गर्नु परेकोले कृषि योग्य जमिन खण्डकरण रोक्न प्लटिङ कार्यमा रोक लगाएको देवकोटाले बताए ।
तर, पारिवारिक अंशबन्डा हुँदा भने कृषियोग्य जमिन भए पनि कित्ताकाट गर्न पाइने छ । यो निर्देशिका जारी हुनुभन्दा अगाडि पल्टिङको लागि अनुमति लिएको र ५० प्रतिशत जमिन बिक्री भएकोमा प्लटिङका लागि भने बाधा नहुने देवकोटाले बताए ।
मन्त्रालयले कृषियोग्य जमिनको व्याख्या जग्गा नामजाँच ऐन २०१९ बमोजिम पुनः नामजाँच भएको क्षेत्र जग्गा नामजाँच नियमावली २०५८ को नियम २० अनुसार कृषि क्षेत्र उल्लेख भएका जग्गाहरु र पुनः नामजाँच हुन बाँकी रहेको क्षेत्रमा साविकमा नामजाँच हुँदा फिल्डबुक तथा श्रेस्ता पुर्जामा धनहरतर्फ अब्बल, दोयम, सिम र भिरपाखो तर्फ अब्बल र दोयम कायम रहेको जग्गा सम्झनुपर्ने पर्ने गरी व्यवस्था गरेको छ ।