काठमाडौं । एउटै अविभावकले आफ्ना दुई सन्तानलाई फरक फरक नजरले हेर्दैनन् भन्ने नैतिक मान्यता समाजमा स्थापित छ । तर त्यहि समाजमा एउटा नियामक निकायले आफूले नियमन गर्ने २ प्रकारका संस्थालाई भने भिन्दै नजरले हेर्दै आएको छ ।
पछिल्लो समय नयाँ लाईसेन्सको प्रतिक्षामा बसेको निर्जीवन बीमा कम्पनीहरुले आफूहरुलाई बीमा समितिले उपेक्षा गरेको महसुश गरिरहेको छ । ६ वटा जीवन बीमा कम्पनीले लाइसेन्स पाउँदा एउटा पनि निर्जीवन बीमा कम्पनीलाई लाईसेन्स नदिएकोमा उनीहरुले बीमा समितिप्रति गुनासो गर्न थालेका छन् ।
बीमा क्षेत्रको नियमन गर्ने अधिकार पाएको बीमा समितिले जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुलाई फरक फरक ढंगको व्यवहार गर्दै आएको छ । त्यस्तो व्यवहारको प्रमाण हो नयाँ बीमा कम्पनीलाई दिइएको लासेन्स प्रकरण ।
‘६ महिनाअघि आवेदन गर्ने जीवन बीमा कम्पनीलाई बीमा समितिले लाईसेन्स दिईसक्यो । हामीले २०६४ सालमा लाइसेन्सका लागि आवेदन दिएको, १० वर्षमा पनि पाउन सकेका छैनौं’ प्रक्रियामा रहेका एक कम्पनीको लगानीकर्ताले भने ।
जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन अर्थ मन्त्रालयको स्वीकृति चाहिन्छ तर निर्जीवन बीमा कम्पनीलाई समिति आफैंले लाइसेन्स दिन सक्छ । आफ्नै हातमा अधिकार हुँदा हुँदै पनि बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स नदिएर निजीवन कम्पनीमा लगानी गर्ने लगानीकर्ताको मनोवल गिराउने काम गरेको उनको टिप्पणी छ ।
यतिबेला मनकामना इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सानिमा इन्स्योरेन्सले लाइसेन्स पर्खिरहेका छन् ।
तर समितिले एउटा कमिटी बनाएर थप अध्ययन गरिरहेको बताएको छ । ‘अहिले १७ वटा निर्जीवन बीमा कम्पनी छन, ४ वटाले लाइसेन्सका लागि आवेदन दिएका छन, हामीले एउटा कमिटी बनाएर अध्ययन गरिरहेका छौं’, बीमा समितिका एक अधिकारीले भने ।
बीमा समितिले १३ वर्षयता निर्जीबन बीमा कम्पनीलाई लाईसेन्स दिएको छैन । १३ वर्षअघि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी खुलेको थियो ।
यसबीचमा जीवन बीमातर्फ चार वटा कम्पनी थपिएर कारोबार गर्दै आएको छन् । हालै मात्र ६ वटा जीवन बीमा कम्पनीहरुले लाईसेन्स पाएका छन् भने निटक भविष्यामा थप ४ वटा कम्पनीले लाईसेन्स पाउने सम्भावना छ ।