काठमाडौं । नेपाल राष्ट्र बैंकले आवश्यक निर्देशन जारी नगर्दा निजी प्रयोजनका सवारी साधनमा हुने कर्जाको सीमा वृद्धि सम्बन्धी मौद्रिक नीतिले गरेको नयाँ व्यवस्था अलपत्र परेको छ ।
राष्ट्र बैंकले असार २५ गते नै मौद्रिक नीति मार्फत निजी प्रयोजनका सवारी साधनमा बैंक तथा वित्तिय संस्थाले ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था ल्याएको थियो । त्यसअघि बैंक तथा वित्तिय संस्थाले त्यस्तो कर्जामा ५० प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।
मौद्रिक नीति आएको एक महिना नाघि सक्दा पनि केन्द्रिय बैंकले अझै आवश्यक निर्देशन जारी नगरेको बैंकहरुले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ठप्प गरेका छन् ।
‘नेपाल राष्ट्र बैंकले निजी प्रयोजनका सवारी साधनमा कर्जाको सीमा त बढायो तर बैंकहरुले कर्जा दिन मानिरहेका छैनन्’ नाडा अटोमोबाइल एसोसियसन नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले भने । बैंकहरुले कर्जा प्रवाहमा खुकुलो नीति नअपनाउकोले यस क्षेत्रको व्यापार विस्तार हुन नसकेको उनले बताए ।
‘निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्थालाई ६५ प्रतिशत पुर्याइएको छ । साथै, व्यक्तिगत विद्युतिय सवारी साधनको हकमा उक्त सिमा ८० प्रतिशत काम गरिएको छ’– आर्थिक वर्ष २०७४÷७५ को लागि जारी गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
मौद्रिक नीतिले निजी प्रयोगका सवारी साधनमा कर्जाको सीमालाई १५ प्रतिशत बढाउने व्यवस्था गरेसँगै उत्साहित बनेका अटोमोबाइल व्यवसायी उक्त नीति कार्यान्वयनमा नआउँदा निरास देखिन्छन् ।
मौद्रिक नीतिमा उल्लेख गरिएको नीतिगत विषयमा राष्ट्र बैंकले आवश्यक निर्देशन जारी गरेपछि मात्र त्यसको कार्यान्वय गर्ने अभ्यास भएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी साहले बताए ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने सर्कुलर चाँडै जारी हुने बताए । ‘मौद्रिक नीति तयार हुँदा नै कुन सर्कुलर कति बेला जारी गर्ने भन्ने कार्य तालिका बनेको हुन्छ, सोही अनुसार त्यसको कार्यान्वयन हुने हो, अटोलोनमा दिइएको सुबिधा सम्बन्धी सर्कुलर पनि सोही कार्य तालिका अनुसार आउँछ’, राष्ट्र बैंकका सहायक प्रवक्ता पण्डितले भने ।
उनले चाँडै सर्कुलर जारी हुने पनि स्पष्ट पारे ।‘केन्द्रिय बैंकले सम्पूर्ण जोखिम र अवसरहरुलाई हेरेर मौद्रिक नीति बनाउँछ, त्यसको कार्यान्वयनको योजना पनि बनाएको हुन्छ, त्यसै अनुसार सर्कुलरहरु आउने हुन, अटोलोनका सवालमा पनि त्यहि हुने हो’, पण्डितले भने ।
सवारी कर्जा नीति खुकुलो बनाउने नीति कार्यान्वन गर्न आवश्यक निर्देशन ढिलाई गरेमा भदौं १३ देखि हुन लागेको नाडा अटो शो निकै प्रभावित हुने भएको छ । ‘सवारी किन्ने मध्ये अधिकांशले बैंकबाट कर्जा लिने हो, बैंकको कर्जा नीति खुकुलो नभएसम्म नयाँ सवारी किन्न ग्राहक तयार हुँदैन’ सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाजु श्रेष्ठले भने ।