काठमाडौं । अबिरल वर्षाको कारण तराई क्षेत्र डुवानमा र पहाडी क्षेत्र पहिरोको चपेटामा पररेसँग मानवीय जनजीवन कष्टकर बन्दै गएको छ । अहिले तराईका अधिकांश भूभाग जलमग्न भएको छ । घरबस्ती डुवानमा परेका छन् । कोशीको वहाव अझ बढ्दो छ । कोशीको अन्य वाँकी ढोका खोल्न भारत सरकारसँग अनुरोध गरिएपनि हालसम्म सप्तकोशीको ३५ वटामात्र ढोका खोलिएका छन् । राजमार्गहरूका पुलहरू भत्कदा बाटामै गन्तव्यसम्म यात्रुहरू पुग्न नसकेर यात्रुहरू अलपत्र परेका छन् । बाढीका कारण ३० जनाभन्दा बढीले ज्यान गुमाइ सकेका छन् भने कति उच्च जोखिममा परेका छन् । नदी किनारमात्रै होइन सदरमुकाम समेत जलमग्न भएको छ ।
देश जलमग्न भई बाढी पहिरोको चपेटामा परेपछि काठमाडौं एक्लदै गएको छ । देशभर परेको अविरल वर्षापछि आएको बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको गृहमन्त्री जनार्दन शर्माले बताइसकेका छन् । २० जना बेपत्ता भएका छन् । बिहीबारदेखि लगातार परेको पानीले पूर्वमा झापादेखि पश्चिम बर्दियासम्मको तराईको अधिकांश भूभाग जलमग्न भएका छन् । पहाडी क्षेत्रमा पहिरो जाँदा जनधनको क्षति भएको छ । तराईको लाइफलाइन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
अबिरल वर्षा कै कारण दुर्घटनाहरू बढी रहेका छन् । सो कारण परिवारजनले नै ज्यान गुमाउनु परेको छ भने कयौं धनमालको क्षति भएको छ । औद्योगिक करिडोरहरूमा पानीका कारण विद्युत आपूर्ति बन्द हुँदा उद्योगधन्दा संचालन हुन सकेका छैनन् ।
बुटवल-नारायणगढ सडकको बर्दघाटदेखि दुम्किवाससम्म ७ बढी स्थानमा गएको पहिरो हटाउन नपाउँदै पुन सडक भाँसिन गएपछि अवरुद्ध सडक तत्काल संचालनमा नआउने देखिएको छ । ठाउँ ठाउँमा सडकहरू भासिएका छन् । चितवनको पर्यटकीय क्षेत्र सौराह, बर्दिया तथा जनकपुरलगायतका सदरमुकाम डुवानमा परेको छन् ।
बाढीले जीप बगाउदा रौतहटमा सुत्केरी गराउन स्वास्थ्य संस्थामा जादै गर्दा एक्कै परिवारको छ जनाको मृत्यु भएको छ । राजपुर गापालिका-३ स्थित बमनहरको बाध भत्किदाँ उनीहरु चढेको जीप बगाएको थियो । मृत्यु हुनेमा परोहा गाउपालिका ३ लौकाहाका ३२ वर्षीय चन्दन यादव, उनको श्रीमती सर्मिला यादव, आमा सुमित्रादेवी, भाउजु ललिता देवी, भतिजा सरोज यादव र छोरी छोटु यादवको बाढीले बगाउदा मृत्यु भएको स्थानीय शेष वकिलले जानकारी दिएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर-दाङ सडक सडकखण्डका पुलहरु ठाउँठाउँमा भत्किएका छन् । पुल भत्किँदा शनिबारदेखि हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन् । शनिबार राजमार्गको गन्धौली खोलाको पुल भत्किएको थियो । पुल भत्किएपछि खोलामा बनाइएको अस्थायी बाटो पनि खोलाले बगाएको छ । त्यस्तै अगैयास्थित गावर खोलाको पुल पनि पूरै भत्किएको छ । राजमार्गका दुई मुख्य पुलहरु भाँचिएपछि अहिले पूर्वपश्चिम रागमार्ग पूरै अवरुद्ध भएको छ ।
पूर्वपश्चिम जोड्ने राजमार्ग महोत्तरी र धनुषाको बीचमा पर्ने रातु खोलाको पुल भाँसिएको छ । अविरल बर्षासँगै पूर्व नेपाललाई काठमाडौंसँग जोड्ने रातु खोलाको पूल भाँसिएको हो । शनिबार साँढे ६ बजेको समयमा रातु खोलामा आएको भिषण बाढीले खोलाको पूल भाँसिदा यातायात सेवा प्रभावित बन्न पुगेको छ । सात वटा पिलर मध्ये चौंथौ पिलर भाँसिएको छ । १९९० साल तिर निर्माणधिन रातु पुलको महोत्तरी तिरको दुई वटा पिलर भाँसिएको दुई बर्षा नबित्दै पुलको चौथौं फिल भाँसिएको हो ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि परेको अबिरल वर्षा सोमबार केही मर्थर हुने जनाएको छ । उसको यो अनुमानलाई मान्दा पनि सो अवधिसम्म कतिको ज्यान जाने हो र कति धनमालको क्षति हुने हो सो आँकलन गर्न नसक्ने अवस्थामा गृह मन्त्रालय पुगेको छ । चारै तिरको बाटो अवरुद्ध भएपछि काठमाडौंमा खाद्यन्नलगायत तरकारीको भाउ माथि उक्लन थालेको छ ।