काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकार र नेपाली कांग्रेस पूर्ण रुपले तयार रहेको बताएका छन् । शनिबार साँझ डा. केसीको माग लिएर बालुवाटार आएका उनका प्रतिनिधि र मानवअधिकारवादीहरु समक्ष प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
शुक्रबार दुई पक्षबीच तीन बुँदे सहमति भए पनि प्रतिपक्ष दल सम्वद्ध केही सांसद्को विमतिका कारण त्यसअनुरुप चिकित्सा शिक्षा विधेयकको पुनर्लेखन हुनसकेको थिएन । यसकारण, डा. केसीले २० दिनदेखि जारी अनशन तोड्न अस्वीकार गरेका थिए ।
शनिबार डा. केसीका प्रतिनिधिहरूले चिकित्सा शिक्षा ऐनको प्रस्तावनामा “चिकित्सा शिक्षासम्बन्धि राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावनासमेतलाई दृष्टिगरी गरी” भन्ने वाक्यांश थप्न र दफा ६ मा “यस ऐन बमोजिम चिकित्सा शिक्षा कार्यदल २०७२को प्रतिवेदनसमेतले आवश्यक पर्ने पूर्वाधार तथा मापदण्ड” भन्ने उल्लेख गर्न माग गरेका थिए । यी दुई माग सम्बोधन भए डा. केसीले तत्काल अनशन अन्त्य गर्ने जानकारी उनीहरूले दिएका थिए ।