
काठमाडौं । भारतीय पक्षले तराईका सिमावर्ती जिल्लामा वनाएको तटबन्ध र वाँधलाई भत्काउनका लागि तत्काल कुटनीतिक कदम चाल्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सरकारसमक्ष माग गरेको छ ।
अविरल वर्षाका कारण वाढी र डुबानमा परेर ५० जना भन्दा बढीको ज्यान गएकोमा दुःख ब्यक्त गर्दै सो पार्टीले सिमावर्ती क्षेत्रमा वनाएका वाँध नभत्काएसम्म तराईको भुमी डुवानमा परिरहने पनि जनाएको छ ।
अध्यक्ष वद्रीप्रसाद न्यौपानेको अध्यक्षतामा वसेको केन्द्रीय कार्य सम्पादन समितिको वैठकले सो माग अघि सारेको हो । ‘भारतले सीमा क्षेत्रमा बनाएको उच्च सडक, बाँध र तटबन्धका कारण नेपालको तराई क्षेत्रमा डुबान भएको चुरेभावर पार्टीको ठहर छ,’ सो पार्टीले भनेको छ, ‘नेपाल र नेपालीहरूलाई क्षति हुने गरेर बनाइएका त्यस्ता संरचनाहरू हटाउने विषयमा भारतसँग कूटनीतिक पहलमार्फत तत्काल समाधान खोज्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ सो पार्टीले माताहातका जिल्ला कमिटीलाई वाढी र डुवानमा परेकाको तत्कालै उद्धार कार्यमा सक्रियतापुर्वक खटन र उपलब्ध राहात वितरण गर्न पनि माताहतलाई निर्देशन दिएको छ ।
सो पार्टीले वाढी, डुवान र पहिरोवाट अर्वौको धनजनको क्षति भएको तर सरकारले सो क्षतीलाई न्युनीकरण गर्न कुनै पुर्व तयारी नगरेको आरोप लगाउँदै पीडितलाई तत्काल उद्धार, राहत र क्षतिपुर्तिको व्यवस्था गराउन पनि माग गरेको छ । ‘सरकारले बाढी पीडितहरूको उद्धार र राहत वितरणमा जसरी काम गर्नुपर्ने हो त्यो नगरेको हाम्रो पार्टीको ठहर छ’ सो आरोप लगाउँदै पार्टीले भनेको छ, ‘सरकारले छिटोभन्दा छिटो बाढी पीडितहरूलाई खाने, बस्ने, शुद्ध पिउने पानी, औषधि र बालबच्चाहरूको उचित स्याहार सुसारका लागि पहल गर्न गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’
मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजन प्रति हार्दिक समवेदन प्रकट गरेको सो पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।