भक्तपुर। भक्तपूरको प्रसिद्ध धार्मिकस्थल डोलेश्वर महादेव मन्दिरमा लागेको साउने मेलामा ७६ लाख ३४ हजार रुपैयाँ उठेको छ । साउन एक गतेदेखि सुरु भएको मेलामा भक्तजनले चढाएका भेटी एवं दानबाट उक्त रकम जम्मा भएको हो ।
सो रकम सूर्यविनायक नगरपालिका–८ केदारनाथको शिरमा रहेको उक्त मन्दिरको गुरुयोजना सम्पन्न गर्न प्रयोग गरिने आयोजकले जनाएका छन् । गत साउन एक गतेदेखि नियमित रुपमा सञ्चालन भइरहेको मेलामा भक्तजनबाट आएको भेटी एवं दानबाट उक्त रकम संकलन भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका कोषाध्यक्ष विश्वराम थापाले जानकारी दिए ।
कोषाध्यक्ष थापाका अनुसार गुरुयोजना निर्माण अनुदानमा रु ५० लाख ८९ हजार, भेटीबाट रु १९ लाख ३४ हजार, पञ्चस्नानबाट रु तीन लाख ९२ हजार र गंगाआरतीबाट रु ६३ हजार संकलन भएको हो । उक्त मेला भाद्र ६ गतेसम्म चल्नेछ । रासस