काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थीहरुले बाढी पीडितका लागि २५ लाख रुपैंयाँ मूल्य बराबरको राहत सामग्री संकलन गरेका छन् । उनीहरुले ३ दिन लगाएर बागबजार, पुतलीसडक, सुनधारा, न्युरोड, महावौद्ध, भृकुटीमण्डप लगायतका क्षेत्रबाट लत्ता कपडा र खाद्यान्न लगायतका राहत सामग्री संकलन गरेका हुन् ।

‘करिब २५ लाख मूल्य बराबरको लत्ता कपडा र खाद्यान्न संकलन भएको छ, केहि दिन भित्रै रौतहटका बाढी पीडितलाई वितरण गर्न जाने योजना बनाएका छौं’, अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका राहत संकलन अभियन्ता अशोक थापाले भने । थापाका अनुसार रौतहटको कुन क्षेत्रका बाढी पीडितलाई राहत सामग्री वितरण गर्ने भन्नेबारे स्थानीय प्रशासनसँग समन्वय भैरहेको छ ।
खाद्यान्न र लत्ता कपडा बाहेक उनीहरुले ५१ हजार नगद पनि संकलन गर्न सफल भएका छन् । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीमा आवद्ध विद्यार्थीहरुले स्वतन्त्र समुह बनाएर राहत संकलन गरेका हुन् । ‘हामी फरक फरक संगठनमा आवद्ध छौं, नागरिक माथी प्राकृतिक संकट आइपर्दा सबै मिलेर काम गर्नुपर्छ भन्ने सन्देश दिन पनि स्वतन्त्र रुपमा राहत संकलनमा जुटेका हौं’, रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु कोषाध्यक्ष संगम देवकोटाले भने ।
नेपाल विद्यार्थी संघ आर. आर इकाईका उपाध्यक्ष पुस्कर बास्तोलाले तराई मधेश डुबानमा पर्दा टुलुटुलु हेरेर बस्न नसकेको बताउँदै भने–‘एउटालाई साह्रो गाह्रो पर्दा अर्काेले सघाउनु पर्छ भन्ने मान्यताका आधारमा राहत संकलनमा जुटेका हौं ।’ अभियानमा राष्ट्रिय बक्सिङ संघका महासचिव महेश श्रेष्ठ, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नरेश रेग्मी, अखिल कार्यकर्ता सुभाष ढुंगाना लगायतको समुह जुटिरहेको छ । उनीहरुले मंगलबार दिनभर थप राहत संकलन गरेर मधेश झर्ने योजना बनाएका छन् ।