काठमाडौं । राष्ट्रिय सहकारी संघ लि. नेपालले बाढी पहिरो, कटान र डुवान पीडितहरुका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । संघको मंगलबार बसेको कार्यकारीणी समितिको बैठकले संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने निर्णय गरेको हो ।
संघले आफ्नो मातहतमा रहेको केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत देशभरि रहेको ३३ हजारभन्दा बढि प्रारम्भिक सहकारी संस्थाहरुलाई समेत सक्दो सहयोग गर्न आव्हान गरेको छ । संघले राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय बानेश्वरमा रहेको आफ्नो खाता नं. १३–०००२४–२९ र राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरको संघको दैवी प्रकोप उद्दार कोषको खाता नं. १४२००–३४३५१–१० मा रकम जम्मा गर्नका लागि सहकारी संघ÷संस्थालाई आव्हान गरेको छ । ती खातामा संकलन गरिएको रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरिने संघका अध्यक्ष केशव प्रसाद बडालले बताए ।
संघले देशका विभिन्न भागमा आएको बाढी, पहिरो, कटान र डुवारमा परि जनधनको अपुरणीय क्षति र बाढी पहिरो प्रभावित क्षेत्रमा बासस्थान, कृषि बाली, सडक, उद्योगधन्दा प्रभावित भएकोले प्रभावित क्षेत्रका नागरिकको जीवन कष्टकर बनेको भन्दै यस्तो घडीमा सहकारीको मर्म अनुसार सहयोग गर्न आग्रह गरेको हो । संघले प्राकृतिक विपत्मा परि ज्यान गुमाएकाप्रति श्रञ्जाजलीसमेत व्यक्त गरेको छ ।