काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पीडितहरुका लागि राहत स्वरुप एक करोड एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। चेम्बरको मंगलबार बसेको आकस्मिक बैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाले उत्पन्न भीषण बाढीपहिरो पीडितका लागि सो रकम बराबर मूल्यको नगद एवं जिन्सी दिने निर्णय गरेको हो ।
दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुका लागि राहत पुर्याउन चेम्बरले २३ सदस्यीय डिजास्टर रिलिफ सेल गठन गरेको छ । डिजास्टर रिलिफ सेलको संयोजकमा चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ल एवं सहसंयोजकमा दीपक मलहोत्रा र किसन अग्रवाल रहेका छन् ।
बाढीपीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारीका लागि पनि पहल गर्ने चेम्बरले निर्णय गरेको छ । बाढीपीडितलाई सहयोग गर्न इच्छुक दाताहरुलाई ग्लोबल आईएमई बैंक लिमिटेड कान्तिपथको खाता नं. ०१०१०१०००६१२३ मा रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।