काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ८२८ मेगावाट क्षमताको उत्तरगंगा जलासययुक्त आयोजना अघि बढाएको छ ।
प्राधिकरणले आयोजना अघि बढाउन उत्तरगंगा पावर कम्पनी स्थापना गरेको छ । कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (एआईए) को प्रतिवेदन तयारीमा जुटेको छ ।
वाग्लुङ जिल्ला अन्र्तगत ढोरपाटन नगरपालिका र निसिखोला गाउँपालिका र रुकुम जिल्लाको पुथा उत्तरगंगामा आयोजना पर्छ । आयोजनाले २ सय मिटर अग्लो बाँध निर्माण गरेर झण्डै १० किलोमिटर सुरुङबाट पानी प्रवाह गरेर ८२८ मेगावाट बिजुली निकाल्ने तयारी छ ।
आयोजनाको जडित क्षमता बढाएर १ हजार मेगावाटसम्म पु¥याउन सकिने प्रारम्भीक अध्ययनले देखाएको छ । यसअघि ३ सय मेगावाटमा आयोजनाको काम अघि बढाउने तयारी भएको थियो ।
सरकारले अघि बढाउन लागेको १० जलासययुक्त आयोजना मध्ये उत्तरगंगा पनि एक हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारपछि मात्र आयोजनाको यकिन लागत तय हुने छ ।