लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३/७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ ।
सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ४० प्रतिशतमा झरेको हो ।
विगत वर्षहरुमा करिब ५० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७३÷७४ मा करिव १० प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।
समयमा विद्युत्को महसुल नबुझाउने जिल्लाका ८६५ ग्राहकको विद्युत् लाइनसमेत काटिएको थियो । विद्युत्को बक्यौता रकम समयमा नबुझाएको र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गरेका ग्राहकको विद्युत् लाइन काटेको प्रमुख यादवको भनाइ छ ।
उनका अनुसार विद्युत् लाइन काटिएका ८६५ ग्राहकमध्ये ५४७ जना ग्राहकबाट १ करोड २३ लाख ६४ हजार ७ सय ९७ रुपैयाँ बक्यौता रकम संकलन भएको छ । विद्युत् लाइन काटिएका मध्ये ३२ जनाले महसुल बुझाए बापत ४५ लाख ३९ हजार रुपैयाँ संकलन भएको छ ।
केन्द्रले आव २०७३/७४ मा हुकिङ गरी विद्युत् चुहावट गर्ने ४८१ जनालाई पक्राउ गरी गरेको जरिवानमा ३० लाख ३६ हजार १ सय ५३ रुपैयाँ राजश्व संकलन हुनाका साथै सो क्रममा १०३ थान टिभी, १३१ थान पानी तान्ने मोटर, ६६ थान पङ्खा र ६ थान फ्रिजसमेत बरामद गरिएको प्रमुख यादवले बताए । रासस