काठमाडौं । सरकारले विगत वर्ष जस्तै दशै र तिहार लगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दे भदौ १६ गतेदेखि छठसम्म देशभरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
आपूर्ति मन्त्रालय अन्तर्गका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल खाद्य संस्थानले दशै र तिहारमा सहुलियत दरमा नून, चिनी, चामल लगायतका दैनिक उपभोग्य वस्तु सहुलियतमा बिक्री गर्ने भएका हुन् । आयल निगमले पेट्रोलियमको आपूर्ति सहज गर्ने भएको छ ।
आगामी चाडपर्वमा उपभोक्ताको सहजताका लागि विभिन्न संस्थानमार्फत सहलियतमा दैनिक उपभोग्य वस्तु बिक्रीबितरण गर्न लागिएको आपूर्तिसचिव प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार यसपाली खाद्य संस्थानले उपत्यकाका ११ स्थान तथा मूलुकभरका गोदामबाट सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने भएको छ ।
साल्ट ट्रेडिङले उपत्यकाका ९ स्थान तीन वटा घुम्ति पसलबाट सेवा दिनेछ । साल्ट ट्रेडिङले उपत्यका बाहिर ३६ स्थानमा सहुलियत पसल चलाउने मन्त्रालयले जानकारी दिएको छ ।
साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ र चिनीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् । खाद्य संस्थानले बिक्री गर्ने बासमती चामल र फापरको पिठोमा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिने उनले जानकारी दिइन् । मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने छ ।
खाद्य संस्थानले बिक्री गर्ने खसी बोका तथा च्यांग्रामा पनि प्रतिकिलो १० रुपैयाँसम्म छुट दिने उनले बताइन् । संस्थानले पश्चिम नेपालबाट १ हजार ५ सय खसीबोका र मुस्ताङबाट १ हजार च्याङ्ग्रा गरेर २ हजार ५ सय साना चौपाया ल्याउने तयारी गरेको छ ।
चाडपर्वको अवसर पारेर दैनिक उपभोग्य सामानमा कालोबजारी तथा कृत्रिम अभावलाई निरुत्साहित गर्न सहुलियत पसल सञ्चालन गर्न लागिएको केसीले जानकारी दिइन् ।
प्रत्येक वर्ष संस्थानहरुले उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उलपब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्दै आएको छ । यसपाली पनि बजारमा कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न कार्यक्रम ल्याउने उनले बताइन् ।
आयल निगमले दसैं तिहारमा पेट्रोलियम आपूर्तिमा कुनै समस्या नआउने जानकारी दिएको छ । दुध तथा दहीका लागि छलफल गर्ने तयारी चलिरहेको सचिव राईले जानकारी दिए ।