सिरहा । हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब १३ करोड रूपैयाँ बराबरको क्षति भएको छ ।
कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय प्रमुख गौतम ठाकुरका अनुसार नहरको पूर्वी नहर प्रणाली सिरहातर्फ ५ करोड र कमला नहर पश्चिमी नहर प्रणालीतर्फ ७ करोड र हर्दिनाथ सिँचाइ प्रणालीतर्फ १ करोड रूपैयाँ बराबरको संरचना बाढीपहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।
सिरहाको १२ हजार ५०० हेक्टर जमिन र धनुषाको १२ हजार ५०० हेक्टर जमिन गरी कूल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइरहेको सो आयोजना बाढीबाट क्षतिग्रस्त हुदा सिँचाइमा समस्या पुगेको प्रमुख ठाकुरले बताए ।
विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले शिलान्यास गरेकाे कमला सिँचाइ आयोजना विगत ३ वर्षदेखि पूर्णरुपमा निर्माण भएपछि सिरहा र धनुषाको धान, गहँ खेतीमा सिँचाइ सुविधा पु¥याउँदै आएको थियो ।
कमला नहर र हर्दिनाथ सिँचाइ आयोजनाको नहरको पुरानो तथा नयाँ संरचना भासेको बाँध तथा केनल पूर्णरुपमा क्षतिग्रस्त भएको नहरका ग्राभेलबाटो टुटफुट भएको र नहर संरचनामा बाढीले तोडफोड गरेकाले त्यसलाई पुनःनिर्माणमा ठूलो रकम खर्च हुने सो कार्यालयका इन्जिनियर अरुण यादवले राससलाई भने ।
साथै सो नहर क्षतिग्रस्त हुँदा सिरहा एवं धनुषाको धानखेतीसमेत बालुवा र माटोले पुरिएर नष्ट भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ ।
कमला नहरको निर्माणले विगत दुई वर्षदेखि कृषि उत्पादन वृद्धि हुनुका साथै कमला नदीलाई समेत नियत्रण गर्दै आएको शारसर गाउँका रतिस यादवले भने । गत वर्ष २०७३र०७४ मा कमला नहर सिँचाइका लागि १७ करोड र समृद्ध तराई कार्यक्रमतर्फ र ५ करोड रूपैयाँ खर्च गरी सो नहरको संरचनाका साथै सिँचाइका कार्य गरिएको सो कार्यालयले जनाएको छ ।