काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई २५ प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले सेयर निष्कासन प्रस्ताव पारित गर्न भदौ २९ गते साधारणसभा बोलाएको छ । १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लावासी र १५ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने छ । साधारणसभाबाट पारित भएपछि सेयर निश्कासनको प्रक्रिया अघि बढ्ने भएको छ ।
कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयरको रुपमा उठाएको ९५ करोड रुपैयाँ साधारण सेयरमा परिणत गर्ने भएको छ । आयोजनाको काम सुरु गर्न कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयर उठाएको थियो ।
युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ ।