तराई डुबानः दुई बीमा कम्पनीमा पर्यो ६ करोड ६५ लाख दावी, सर्भेयर पुगे डुबान क्षेत्रमा

<p>काठमाडौं । तराई–मधेशमा आएको बाढी र डुबानपछि बीमा दावी गर्ने क्रम सुरु भएको छ । दुई वटा बीमा कम्पनीमा मात्रै ६ करोड ६५ लाखको दावी परेको छ । बीमा समितिका अनुसार हालसम्म प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीले प्रारम्भिक दावीको विवरण बुझाएका छन् । एनएलजी इन्स्योरेन्स कम्पनीमा ३ करोड ८३ लाख १६ हजार [&hellip;]</p>

काठमाडौं । तराई–मधेशमा आएको बाढी र डुबानपछि बीमा दावी गर्ने क्रम सुरु भएको छ । दुई वटा बीमा कम्पनीमा मात्रै ६ करोड ६५ लाखको दावी परेको छ । बीमा समितिका अनुसार हालसम्म प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीले प्रारम्भिक दावीको विवरण बुझाएका छन् ।

एनएलजी इन्स्योरेन्स कम्पनीमा ३ करोड ८३ लाख १६ हजार ४ सय १० रुपैंयाँको दावी परेको छ । ६ वटा अग्नि, ७ वटा मोटर, १ पशुपंक्षि र २ वटा माछा गरी कुल २३ वटा बीमा दावी परेको छ । त्यस्तै, प्रीमियर इन्स्योरेन्समा ३ वटा अग्नी, १३ वटा मोटर र ४ वटा इञ्जिनियरिङ गरी २३ वटा बीमा दावी परेको हो । सो वापत २ करोड ८२ लाख ५० हजार रुपैंयाँ दावी गरिएको छ ।

बीमा समिति भन्छः यो बीमकका लागि अवसर हो
बीमा समितिले साउन २९ गते नै सबै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर सर्भेयर खटाउन निर्देशन दिएको थियो ।‘हामीले साउन २९ गते नै सबै बीमा कम्पनीका प्रमुखलाई बोलाएर सर्भेयर खटाउन निर्देशन दिएका थियौं, सोही अनुसार यतिबेला सबै कम्पनीहरुले सर्भेयर पठाएका छन्’, बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने ।

समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीे बीमा कम्पनीहरुले बीमा बजार विस्तारका लागि राम्रो अवसर पाएको बताउँछन् ।‘भूकम्पपछि राम्रो गर्ने बीमा कम्पनीले यतिबेला मालामाल भैसकेका छन, बाढी र डुबान पनि बीमा कम्पनीहरुका लागि राम्रो अवसर हो ।’, कार्यकारी निर्देशक कार्कीले भने ।

यतिबेला बीमा कम्पनीले आफ्ना सर्भेयरलाई बाढी र डुबान प्रभावित क्षेत्रमा खटाईरहेका छन् । सगरमाथा इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले सूचना प्रकाशित गरेरै क्षतिको दावी गर्न आव्हान गरेका छन् । बीमा दावीलाई जति सहज ढंगले भुक्तानी गर्यो बीमा कम्पनीको बजार बढाउन त्यति नै सहज हुने कार्की बताउँछन् ।

‘सहजै दावी भुक्तानी गर्ने कम्पनी प्रति विश्वास बढ्छ, उनीहरुको बजार बढाउन पनि सहजता थपिन्छ, अहिले कम्पनीहरु आफ्नो गुडविल बढाउन लागिपरेका छन् ।’, कार्कीले भने । एक हप्ताभित्रै सबै क्षतिहरुको पुर्ण विवरण आइसक्ने पनि उनले बताए ।

 

Share News