काठमाडौं । बिहीबारदेखि कटैया–कुसाह अन्तर्गत १३२ केभी क्षमताको दोस्रो प्रसारणलाइनबाट बिजुली आयात हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार दुरनियन्त्रित यन्त्रबाट (स्वीच थिचेर) बिजुली आयातको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर प्रसारणलाइन सुचारु गर्ने छन् । औपचारिक रुपमा भारतबाट थप ५० मेगावाट बिजुली आउने छ ।
प्रसारणलाइन निर्माण भएपनि सञ्चालमा ल्याइएको छ्रैन् । कटैया–कुसाह अन्र्तगत अर्को प्रसारणलाइनबाट बिजुली आपूर्ति भइरहेको छ । यो लाइन भारतको सहयोगमा निर्माण भएको हो ।
यस्तै परवानीपुर–रक्सौल १३२ केभी प्रसारणलाइन पनि सम्पन्न भएको छ । भारतको मोतिहारीमा सवस्टेशनको काम भइरहेकाले केही महिनापछि मात्र सञ्चालनमा आउने छ । यो लाइनबाट पनि ५० मेगावाट आउने छ ।
हालै भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत आदनप्रदान समिति (पीईसी) बैठकले कटैया–कुसाह र परवानीपुर– रक्सौल प्रसारणलाइनबाट गरी थप १ सय मेगावाट बिजुली आयात गर्ने सहमति गरेको छ ।
आउदो हिउँदमा विद्युतभार कटौती (लोडसेडिङ) हटाउन यी दुई लाइनबाट १ सय मेगावाट बिजुली आयात गर्ने तयारी भएको हो । यो वर्ष ५ सय मेगावाटसम्म बिजुली आयात हुने छ । गत वर्ष ३८५ मेगावाटसम्म बिजुली आयात भएको थियो ।
गत वर्ष ०७३/०७४ गत वर्ष भारतबाट २ अर्ब १७ करोड ५० लाख ४० हजार युनिट बिजुली आयात भएको छ । अघिल्लो आवमा प्राधिकरणले १ अर्ब ७७ करोड ७६ लाख ८० हजार युनिट बिजुली आयात गरेको थियो । गत आवमा प्राधिकरणले १४ अर्ब २० करोड रुपैयाँ बराबरको बिजुली आयात भएको थियो ।
गत वर्ष ग्रीड प्रणालीमा उपलब्ध कुल ऊर्जा मध्ये भारतबाट आयातित बिजुलीको हिस्सा बढेर ३४.७६ प्रतिशत पुगेको छ । विद्युत प्राधिकरणको आफनो उत्पादनको ३८.८४ र निजी क्षेत्रको २८.४० प्रतिशत मात्र छ ।
गत वर्ष विद्युत प्राधिकरणका आफना आयोजनाबाट उत्पादन हुने बिजुली परिमाण ८ प्रतिशत बढेर २ अर्ब ३० करोड ५१ लाख ७० हजार युनिट पुगेको छ । अघिल्लो वर्ष २ अर्ब १३ करोड ३४ लाख ४० थियो ।
प्राधिकरणले भारतको एनपीटीसी विद्युत व्यापार निगमको ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ र पीटीसी इन्डिया लिमिटेडको टनकपुरबाट ३५ मेगावाट बिजुली खरिद गरिएको जानकारी दिएको छ । २ सय मेगावाट भन्दा बढी विहार र उत्तरप्रदेशबाट विद्युत आदनप्रदान सम्झौता अनुसार आयात भइरहेको छ ।