बनेपा। काभ्रेपलाञ्चोकमा निजी आवासअन्तर्गत पुनःनिर्माणको गुनासो सम्बोधनका लागि पुनः जाँच तथा सर्वे शुरु भएको छ । भूकम्पपछि घरबारविहीन भएकालाई राहतस्वरुप सरकारले उपलब्ध गराउने अनुदान नपाएको भन्दै गुनासो बढेपछि सरकारले पुनः जाँच र सर्वे शुरु भएको हो ।
गत साउन ३१ देखि असोज ३ गतेसम्मका लागि ४१ जना सामाजिक परिचालक र ४१ जना इञ्जिनियर जिल्लाभर परिचालन भएको पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैँडाले जानकारी दिए ।
दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर महाभारत गाउँपालिका, रोशी गाउँपालिकालगायत सबै नगरपालिका र गाउँपालिकामा सर्वे शुरु भएको उल्लेख गर्दै उनले पूर्ण विवरण प्राप्त नभएकाले पुनः जाँच तथा सर्वे भएको बताए ।
वास्तविक भूकम्पपीडित हुन् वा होइनन् भनेर नै जाँच तथा सर्वे शुरु भएको हो उनले भने । परिचालित इञ्जिनियरले भूकम्पका कारण भत्केको भग्नावशेषको फोटो खिच्ने छन् भने सामाजिक परिचालकले भूकम्पपीडितको विवरण संकलन गर्ने छन् ।
निजी आवासअन्तर्गत भूकम्पपीडितले जिल्लामा प्रथम किस्ता ५० हजार रुपैयाँ, दोस्रो किस्ता एक लाख ५० हजार रुपैयाँ र तेस्रो किस्ता रु एक लाख पाउँछन् ।
अहिलेसम्म काभ्रेपलाञ्चोकमा प्रथम किस्ताबापतको ५० हजार रुपैयाँ ६३ हजार ८७० जनाले, दोस्रो किस्ताबापतको एक लाख ५० हजार रुपैयाँ ६ हजार ४२३ जनाले र तेस्रो किस्ताबापतको एक लाख रुपैयाँ १३१ जनाले पाएको पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयले जनाएको छ । जिल्लामा लाभग्राहीको संख्या ७२ हजार ४१७ रहेको छ । रासस