काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालमा जलबिद्युत क्षेत्रको बहुउद्देश्यीय मोडल परियोजना निर्माण गर्न अष्ट्रेलियालाई आग्रह गरेका छन् ।
ऊर्जा मन्त्रालयमा शुक्रबार नेपालका लागि अष्ट्रेलियाली राजदुत पिट बुडसंगको शिष्टचार भेटका क्रममा मन्त्री शाहीले सो आग्रह गरेका हुन् ।
कृषि, पर्यटन, खानेपानी, वातावरण लगायतका क्षेत्रमा सहयोग पुग्ने आयोजना जरुरी रहेको आवश्यकता औल्याउँदै उनले देखिने गरी ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
ठूला परियोजना दुबै देशका सरकारको लगानीमा पनि निर्माण गर्न सकिने ऊर्जा मन्त्री शाहीको भनाइ थियो । राजदूत बुडले आफ्नो मुलुकमा संघीय राज्यले नै जलस्रोतको बहुआयामिक उपयोगका बारेमा फरक फरक तवरले काम गरिरहेको र त्यस्तो अनुभव नेपालका लागि समेत उपयोगी हुने बताए ।