काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब २ किलोमिटर भन्दा कम बाँकी रहेको छ । मेलम्चीको सुरुङ साढे २५ किलोमिटर खन्ने काम सकिएको छ । अब १ हजार ९८७ मिटर मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्चीको रिवर्मादेखि राजधानीको सुन्दरीजलसम्म साढे २७ किलोमिटर लामो सुरुङ मध्ये हालसम्म झण्डै साढे २५ किलोमिटर खनिएको छ । असोजसम्म पुरा नभएपछि आयोजनाको सुरुङ खन्ने काम पुसको दोस्रो साता अर्थात डिसेम्बरसम्म सम्पन्न हुने गरी अर्को कार्ययोजना तयार पारिएको छ ।
डिसेम्बरमा सुरुङको काम सम्पन्न भएपनि आरसीसी लाइनिङलगायत अन्य काम गर्न झण्डै ३ महिना लाग्ने भएकाले चैतसम्म पानी आपूर्ति हुने समितिले जनाएको छ । हाल आरसीसी लाइनिङको काम भइरहको छ । ठेकेदार सीएमसीले ४ फेसबाट काम गरिरहेको छ ।
सुन्दरीजलमा साढे ८ करोड लिटर पानीप्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । । यस्तै अर्को साढे ८ करोड लिटर पानीप्रशोधनगर्ने केन्द्रको निर्माण सुरु भइसकेको छ ।
सरकारले चालु आर्थिक वर्ष ०७४/०७५ मा मेलम्चीकालागि ६ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको छ । आयोजनाको कुल लागत २४ अर्ब रुपैयाँ छ ।