भीमदत्तनगर । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणका लागि शिलान्यासको तयारी गरिएको छ । ८ सय मिटर लम्बाइ रहेको उक्त पुलको आगामी बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्ने कार्यक्रम छ ।
पुल निर्माणको जिम्मा पाएको कम्पनीले पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ ओदालीसित महाकाली नदी किनारमा आवश्यक तयारी गरेको छ । महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले पुलको शिलान्यासका लागि प्रधानमन्त्री भीमदत्तनगर आउने कार्यक्रम तय भइसकेको जानकारी दिए ।
प्रधानमन्त्री देउवासँगै पुल शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, यातायात राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुखलगायतको सहभागिता रहने कार्यक्रम रहेको महाकाली पुल योजना कार्यालयले जनाएको छ ।
“पुल निर्माणका लागि निर्माण कम्पनीसित ठेक्का सम्झौता भइसकेकाले अब काम तत्काल अगाडि बढ्छ ।” पन्तले भने– “पुल निर्माणका लागि रकमको कुनै समस्या हुँदैन ।”
सरकारले पुल निर्माणका लागि चालु आवमा र ९९ करोड ६५ लाख रूपैयाँ विनियोजन गरेको छ । जसमध्ये १० करोड रूपैयाँ पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ । ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार रूपैयाँमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि ३ वर्ष तोकिएको छ ।
पुल निर्माणस्थल ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म चार लेनको सात किलोमिटर सडकसमेत निर्माण हुनेछ भने पुल छेउछाउमा मजबुत तटबन्धसमेत निर्माण गरिनेछ । पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले पनि निर्माणका लागि आवश्यक सुरुवाती काम थालिसकेको छ ।
कुमार श्रेष्ठ निर्माण सेवाका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठ (पिके श्रेष्ठ) ले पुल निर्माणका लागि महाकाली नदी छेउमा क्याम्प स्थापना गर्नुका साथै विभिन्न मेसिनसमेत जडान गरिरहेको जानकारी दिए ।
“पुलको काम दिनरात गरेर दु्रतगतिमा अगाडि बढ्छ ।” उहाँले भने– “निर्माण संबद्ध पक्षबाट कुनै खालको समस्या आउँदैन ।” स्क्रीनिङ प्लान्टलगायतका विभिन्न संरचना स्थापना गर्ने काम जारी रहेको पनि निर्माण कम्पनीले जनाएको छ । “दशैँलगत्तै पुलको काम दु्रतगतिमा चल्छ ।” श्रेष्ठले भने– “अहिले शिलान्याससँगै अन्य काम हुनेछन् ।” गत चैत महिनामा पुल योजनाको कार्यालय महेन्द्रनगरमा स्थापना भएको थियो ।
त्यसैगरी, पुल निर्माणको सुरसार भएसँगै महाकाली किनार क्षेत्रका बस्तीमा भने खुसीयाली छाएको छ । पुलसँगै सडक र तटबन्ध निर्माण हुने खबरले स्थानीयवासी हर्षित छन् ।
“अब त पुल बनेपछि आवागमन सहज हुनुका साथै यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने भन्दै स्थानीयवासी हर्षित छन् ,” पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ का वडाध्यक्ष कृष्ण देउवाले भने– “सडक सञ्जाल विस्तार हुने जमिनमा ऐलानी बसोबास रहेकाले सोको व्यवस्थापनका लागि सघन छलफल गरिरहेका छौँ ।”
उहाँले सडक विस्तारका क्रममा ऐलानीमा दशकौँदेखि बस्दै आएका स्थानीयलाई घरबास व्यवस्थापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासित पनि गुहार माग्ने योजना बनिरहेको सुनाए।
त्यसैगरी, सँगै जोडिएका भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले पुल निर्माणले सुदूरपश्चिमकै आर्थिक विकासमा सहयोग पुग्नेमा आशावादी रहेको बताए। रासस