मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यकः सञ्चारमन्त्री बस्नेत

<p>काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने बताएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को चौथो वार्षिक साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले पर्यटन प्रवद्र्धनको मुख्य आधार सूचना क्षेत्र भएकाले पर्यटन भित्र्याउन सही सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।  उनले व्यापार प्रवद्र्धनका लागि विदेशमा नेपालको तर्फबाट [&hellip;]</p>

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को चौथो वार्षिक साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले पर्यटन प्रवद्र्धनको मुख्य आधार सूचना क्षेत्र भएकाले पर्यटन भित्र्याउन सही सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।  उनले व्यापार प्रवद्र्धनका लागि विदेशमा नेपालको तर्फबाट वाणिज्यदूत नियुक्त गरेजस्तो विदेशमा सही सूचना सम्प्रेषण गर्नका लागि सूचनादूत नियुक्त गर्ने कार्यलाई मन्त्रालयले अगाडि बढाएको जानकारी दिए ।

उनले इमेल, इन्टरनेट लगायतका अत्यावश्यक सूचनाका सामग्री पर्यटन मार्गमा कसरी पुर्याउन सकिन्छ भन्नेबारेमा सञ्चार मन्त्रालय गम्भीर भएर लागेको बताए । मन्त्री बस्नेतले दूरसञ्चार क्षेत्रलाई सहज र सुलभ बनाउनका लागि आगामी हप्ता देशभरका टेलिकम क्षेत्रमा काम गर्ने कम्पनीको राष्ट्रिय गोष्ठी आयोजना गर्न लागिएको जानकारी दिए ।

अर्को फरक प्रसंगमा मन्त्री बस्नेतले नेपाली जनताको झण्डै सात दशक लामो प्रतिक्षापछि संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्नका लागि तोकिएकै समयमा सबै तहको निर्वाचन गर्न सरकार लागेको बताए। उनले भने, “अब चाँडै मुलुकको राजनीतिक समस्यालाई समाधान गरेर आर्थिक समृद्धिमा लाग्नुपर्छ ।”

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले आन्तरिक पर्यटन तथा बाह्य पर्यटनको विकासका लागि सञ्चारकर्मीको ठूलो भूमिका रहेको बताए ।  राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट) नेपालका अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज दाहाल लगायतले पर्यटन पत्रकारिताका क्षेत्रमा कलम चलाएको नाटोजको उच्च प्रशंसा गरे ।

देशभरका पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई एकीकृत गर्दै विसं २०७० मा स्थापना भएको नाटोजले देशका विभिन्न ठाउँमा जिल्ला शाखा स्थापना गरी काम गरिरहेको नाटोजका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

दुई पत्रकारलाई पुरस्कार, व्यवसायीलाई सम्मान

सो अवसरमा दुई पत्रकारलाई ‘नाटोज पर्यटन पत्रकारिता’ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सञ्चारमन्त्री बस्नेतले रेडियो नेपालका समाचारवाचिका एवम् वरिष्ठ पत्रकार कृष्णा ताम्राकार र रातोपाटी डटकम अनलाइनका पत्रकार राजकुमार सिग्देललाई १० हजार रुपैयाँ नगदसहित ताम्रपत्रद्धारा सम्मान गरे ।

पुरस्कार प्रदान गर्दै सञ्चारमन्त्री बस्नेतले आफूले सानो छदै ताम्राकारले वाचन गरेको समाचार सुन्दा आनन्द लाग्ने गरेको स्मरण सुनाउँदैै ताम्राकारलाई सम्मान गर्न पाउँदा आफू ज्यादै खुशी लागेको बताए ।

यस्तै व्यवसायी मोहन लम्साल, अनिल लामा, गीता गुरुङ, दीपेन्द्र अधिकारी, दावा छिरी शेर्पा, पुष्प बाँस्कोटा, मीनप्रसाद सापकोटा नाटोजका सल्लाहकार मनोजकुमार श्रेष्ठ, , रामशरण कार्की, पत्रकारद्वय विष्णु निष्ठुरी, शरदराज सुवेदी कानुनी सल्लाहकार रामशरण थपलियालाई सम्मान गरिएको थियो । रासस

Share News