काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले चीनले सुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताए । बिहीबार नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा) को उद्घाटनमा बोल्दै मन्त्री महराले नेपालले आर्थिकरुपमा सबल बन्न बिआररआई अधिकतम फाइदा लिनुुपर्ने जोड दिएका हुन् ।
“नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ,”उनले भने । उनले नेपालको महत्वपूर्ण पर्यटकीयस्थल लुम्बिनीको विकास र प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदै नेपाली र चिनियाँबीच राम्रो सम्बन्ध विकासमा लुम्बिनी महत्वपूर्ण गन्तव्य हुने बताए ।नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आकर्षित गर्न सडक निर्माण जस्ता पूर्वाधार निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
लुम्विनी नीकै ठुलो पर्यटकीय स्थल भएकाले सो ठाउँमा पुग्नको लागि उपयुक्त बाटो विस्तारको रणनिती ल्याउने मन्त्री महराले बताए ।
‘नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दै गइरहेको छ,’ उनले भने, ‘चीनसँग राम्रो सम्बन्ध कायम गरेर हामीले पर्यटन क्षत्रमा निकै फाइदा लिन सक्छौं ।’
नेपालका लागि चिनियाँ राजदूत यु होङले चिनियाँ सरकारले नेपालको पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा पर्यटन प्रमुख सुर्य थापाले इतिहासलाई स्मरण गर्दै बुद्ध भारतमा जन्मिएको भनेर उत्तर कोरियामा पाठ्य पुस्तकबाट हटाइएता पनि जापानमा भने कायम नै रहेको हुनाले सो भ्रम हटाउन जोड दिए । उनी भने, ‘चीनसँग नेपालको एतिहासिक सम्बन्ध रहेको छ, त्यसैले नेपालको पुर्वाधार विकास, आर्थिक समुन्ती तथा भविष्यसँग चीन जोडिएको छ ।’
काठमाडौं, पोखरा लुम्बिनीलाई सुरक्षित र फराकिलो बाटो बनाए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने चीनका भुतपुर्व राजदुत टंक कार्कीले बताए । उनले भने, ‘टालटुले नीति नलिइ उपयुक्त रणनीति अपनाएर आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने देखिन्छ ।’
कार्यक्रममा संस्थाका तर्फबाट अनुभवी पथप्रदर्शक ८१ वर्षीय किसनबहादुर नगरकोटीलाई सम्मान गरिएको थियो ।