भीमदत्तनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज शिलान्यास गरेका छन् । शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पुल बनेपछि सुदूरपश्चिमको मुहार फेरिनाका साथै मुलुककै अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताए ।

प्रधानमन्त्री देउवाले महाकाली नदी पारि दोधारा चाँदनीमा पनि सुख्खा बन्दरगाह निर्माण थालिने बताउँदै आफू भारत भ्रमण गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि बन्दरगाह बनाउने विषयमा कुराकानी भएको जानकारी दिए। “महाकाली पुलसँगै पश्चिमको आर्थिक नाकाका रुपमा कञ्चनपुर नाका विकास हुने छ, सुख्खा बन्दरगाह बने युरोप र अरबको सामान ढुवानीमा समेत सहज हुनेछ” उनले भने ।
पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि एक महिनाभित्र तयार गरिने र छिट्टै पञ्चेश्वरको पनि शिलान्यास हुने उनले बताए। पञ्चेश्वर बने मुलुकलाई नै फाइदा पुग्ने बताउँदै उनले परियोजना बने सुदूरपश्चिमलाई अझ बढी फाइदा पुग्ने भनाइ राखे ।
दार्चुला, डडेल्धुराको पर्शुराममा पनि महाकाली नदीमा पुल निर्माण हुने बताउँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल भइरहेको जानकारी दिए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने प्रक्रिया अघि बढेको जानकारी दिए । कैलालीको गेडामा रहेको विमानस्थललाई आगामी छ महिनाभित्र अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाइने उनकाे भनाइ थियो ।
साथै सुदूरपश्चिमसँग जोडिएको चीनका नाका सञ्चालन गराउने विषयमा आफूले चिनियाँ पक्षसित वार्ता गरिरहेको उहाँले बताए । मेचीमा पनि छ लेनको पुल निर्माणका लागि भारतसँग सम्झौता भएको मन्त्री बलायरले जानकारी दिए।
सडक सुधार आयोजनाका प्रमुख सुशीलबाबु ढकालले महाकाली नदीमा निर्माण हुने पुलका विषयमा प्रतिवेदन पेश गर्दै आगामी तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको ८०० मि लम्बाइको पुलसँगै महाकाली नदी वारिपारि गरी झण्डै आठ किमी छ लेनको सडकसमेत निर्माण हुने जानकारी दिए । तेइस दशमलव आठ मि चौडाइको उक्त पुल निर्माणका लागि ३ अर्ब २७ करोड रूपैयाँको ठेक्का सम्झौता भएको छ । रासस