काठमाडौँ । धितोपत्र बजारमा यस साता ३ अर्ब ५६ करोड १ लाख २३ हजार रूपैयाँकाे शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १८० कम्पनीको ७५ लाख ८४ हजार ५९० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ७.४ प्रतिशत बढी हो । गत साता १७५ कम्पनीको ३ अर्ब ३१ करोड ४९ लाख ६५ हजार रूपैयाँ बराबरका एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२.२९ अंकले घटेर अन्तिम दिन एक हजार ५८० दशमलव ०३ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९ .४२ अंकले घटेर ३३१.३२ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा छिमेक लघुवित्त विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १८ करोड ४२ लाख ७० हजार रूपैयाँको कारोबार भएको थियो ।
त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा एनआसी एसिया बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ३ लाख २६ हजार कित्ता शेयर कारोबार भएको थियो ।
त्यसैगरी कारोबार संख्याका आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको सात हजार ८७८ वटा शेयर कारोबार भएको स्टकले जनाएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । रासस