काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सञ्चालक समितिको अध्यक्षमा रविन कुमार नेपाललाई सर्वसम्मत रुपमा चयन गरेको छ । कात्तिक १ गते बसेको कम्पनीको ६२ औं संचालक समितिको बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको हो ।

साथै, कम्पनीको असोज २९ गते सम्पन्न चौथो वार्षिक साधारणसभाबाट ८ जना नयाँ सञ्चालकहरु चयन भएका छन् । जसमा जनता बैंक नेपालका पृथ्वीनारायण श्रेष्ठ, सनराइज बैंकका रविन कुमार नेपाल, प्राइम कमर्सियल बैंकका भाइराजा तुलाधर, बैंक अफ काठमाडौंका प्रविनप्रकाश क्षेत्री, माछापुच्छ्रे बैंकका नारायण प्रकाश भुजु, नेपाल बांगलादेश बैंकका रत्नतारा वैद्य, सिटिजन्स् बैंक इन्टरनेशनलका सन्जीव कुमार श्रेष्ठ र सिद्धार्थ बैंकका सुरेशराज महर्जन चयन भएका छन् ।
१५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, एक पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्यूरिटी स्ट्याण्डर्ड(पीसीआई डीएसएस भर्जन ३.२) र पीसीआई पीआईएन प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आइरहेको छ ।
साथै, यस कम्पनीले १० वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा समेत प्रदान गर्दै आईरहेको छ ।