काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३ स्थानमा विद्युतीय ट्रान्सफरमको परीक्षण प्रयोगशाला (ल्याव) बनाउने भएको छ । प्राधिकरणले विराटनगर, बुटवल र नेपालगन्जमा ट्रान्सफरमर परीक्षण ल्याव बनाउन लागेको हो ।

यसका लागि बेइजिङ हुत्यान मेकानिकल इलेक्ट्रिक इन्ष्टच्युट कम्पनी लिमिटेडलाई छनौट गरेको छ । सारभूत रुपमा प्रभावग्राही र न्युनतम मूल्य अंकित बोलपत्रदाताको रुपमा बेइजिङलाई छनौट गरिएको हो ।
बेइजिङले मूल्य अभिवृद्धि कर (भ्याट) लगायत भन्सार शुल्क बाहेक झण्डै १७ करोड रुपैयाँ अर्थात १६ लाख ५५ हजार १६७ अमेरिकी डलरमा ठेक्का पाउने भएको छ । प्राधिकरणको हेटौडा र काठमाडौमा ट्रान्सफरमर परीक्षण ल्याव रहेको छ । यो समेत गरी परीक्षण ल्याव ५ पुग्ने छ ।
ट्रान्सफरमर परीक्षणलाई सहज बनाउन थप ३ सहरमा ल्याव स्थापना गर्न लागिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सुनीलकुमार ढुङेलले बताए । प्राधिकरणले नेपालमा ट्रान्सफरमर उत्पादन गर्न लागेको जानकारी दिए ।
उनकाअनुसार विद्युत प्राधिकरणले स्वदेशमा ट्रान्सफरम उत्पादन थाल्नका लागि ट्रान्सफरमर उत्पादन कम्पनी स्थापना गरिसकेको छ । नेपालमा सरकारी तवरबाट ट्रान्सफरमर उत्पादन गर्न प्राधिकरणले यस्तो प्रयास थालेको हो । प्राधिकरणले नेपाल इकरात इन्जिनियरिङ कम्पनी र ट्रान्सवेल्ड कम्पनीको विद्युतीय ट्रान्सफरम खरिद गर्दे आएको छ ।
यस्तै विदेशबाट पनि ग्लोबल टेण्डर गरेर प्राधिकरणले ट्रान्सफरमर खरिद गर्दे आएको छ । चीन र थाइल्याण्डबाट आयात गरिएका ट्रान्सफर गुणस्तरहीन भएको प्रमाणित भएपछि ठुलो काण्ड भएको थियो ।