काठमाडौं । सरकारले एनालग प्रविधिबाट सञ्चालन भईरहेका केवल टेलिभिजन बुधबारदेखि बन्द गरेको छ ।बुधबार ८ वटा एनालगमै चलिरहेका केबल टेलिभिजनको कन्ट्रोल रुमको ज्याक सिल गरेको छ ।

राजधानीका ८ वटा केबल टेलिभिजन बन्द भएका छन् । बन्द हुनेमा सुबिसुको एनालग केबल टेलिभिजन, सोनिङ, जाउलाखेल, काठमाडौं, स्काई, स्पेशटाइम, सिईसी र टिपीलिंक केबलको एनालग सेवा बन्द गरिएको हो । ०७५ वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द गर्ने सरकारको तयारी छ ।
यसअघि सरकारले केबल अपरेटर कम्पनीहरुलाई एनालग केबल प्रणाली हटाएर डिजिटल प्रणाली लागू गर्न १५ दिने अल्टिमेटम दिएको थियो । त्यसबेला सुचना तथा सञ्चार मन्त्रालयले कात्तिक २९ गतेबाट सञ्चार मन्त्रालयले अनुगमन गरी एनालग केबल बन्द गर्ने जानकारी दिएको थियो । मन्त्रालयले पहिलो चरणमा महानगरपालिका, उपमहानगर र नगरपालिकामा अवैद्य रुपमा सञ्चालन भइरहेका एनालग टेलिभजन बन्द गरेको हो ।
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा पटकपटक हटाउन दिइएको निर्देशन विपरित केबल कम्पनीहरुले नहटाएपछि बुधबारदेखि लाइन काटिएको मन्त्रालयले जनाएको छ । हालसम्म १० वटा केबल कम्पनीले मात्र डिजिटल प्रणालीको लाइसेन्स लिएका छन् । ती मध्ये ८ वटा सञ्चालनमा छन् । यद्दपी उपत्यकामा २५ भन्दा बढी केबल कम्पनी छन् ।
यसअघि मन्त्रालयले गत बैशाख १५ पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरा महानगरपालिकाहरुमा केबल टेलिभिजन डिजिटलाइजेशन भएनन् भने टीभी नचल्ने जानकारी दिएको थियो । तर ६ महिना बितिसक्दा पनि यो लागू हुन सकेको थिएन । एनालगबाट सरकारले वार्षिक करोडौं रुपैयाँ राजश्व गुमाएको छ ।