अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले शुक्रबार २० अर्ब बजारमा पठाउने

<p>काठमाडौं । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि नेपाल राष्ट्र बैंकले शुक्रबार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएर अन्तर बैंक ब्याजदर बढेको निश्कर्षका आधारमा तत्काल तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले शुक्रबार थप रकम पठाउन लागेको हो । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा १५ अर्ब रुपैयाँ बैकिङ [&hellip;]</p>

काठमाडौं । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि नेपाल राष्ट्र बैंकले शुक्रबार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएर अन्तर बैंक ब्याजदर बढेको निश्कर्षका आधारमा तत्काल तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले शुक्रबार थप रकम पठाउन लागेको हो ।

केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा १५ अर्ब रुपैयाँ बैकिङ प्रणालीबाट प्रशोचन गरेको पर्सिपल्ट तरलताको अभाव भएको संकेत गर्दे बजारमा पैसा पठाउन लागेको हो । ५ प्रतिशत ब्याज दरमा २ साताका राष्ट्र बैंकले बजारमा रकम पठाउने छ।

केन्द्रीय बैंकले ५ प्रतिशत भन्दा बढी ब्याज प्रस्ताव नगर्न भनेको छ । आगामी मंसिर १५ गते रिपोको रकम परिपक्व हुने छ । बैंकले सस्तो ब्याज दरमा दुई साताका लागि निक्षेप परिचालन गर्ने सुविधा पाउने भएका छन् ।

केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । ब्याज दर करिडोर लागु भएको दिन बुधबार राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दरमा बजारबाट १५ अर्ब रुपैयाँ उठाएको थियो । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाबाट सो रकम उठाएको हो ।

तरलताको अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने मौद्रिक नीतिमा करिडोरको व्यवस्था गरिएको हो ।

ब्याजदर करिडोर लागु गर्न दुई हप्ता अवधिको निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने सम्बन्धी कार्यविधि गभर्नरले स्वीकृत गरेपछि बुधबारदेखि कार्यान्वयनमा आएको हो ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत तोकिएको छ । केन्द्रीय बैंकले बजारमा बढी भएको रकम प्रशोचन र कम भए पठाउने गर्छ ।

Share News