४ वर्षपछि चिलिमे हाइड्रोपावरले ४ आयोजनाबाट वार्षिक १ अर्ब लाभांश पाउने

<p>काठमाडौं । निर्माणधिन ४ जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछिको वर्षदेखि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक १ अर्ब रुपैयाँ बढी थप लाभांश पाउने भएको छ । हाल निर्माणधिन १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, १४ मेगावाटको सान्जेन र ४२ मेगावाटको तल्लो सान्जेन आयोजनाबाट २७० मेगावाट बिजुली बिक्री गरेर सो रकम बराबर लाभांश पाउने कम्पनीका प्रवन्ध [&hellip;]</p>

काठमाडौं । निर्माणधिन ४ जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछिको वर्षदेखि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक १ अर्ब रुपैयाँ बढी थप लाभांश पाउने भएको छ ।

हाल निर्माणधिन १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, १४ मेगावाटको सान्जेन र ४२ मेगावाटको तल्लो सान्जेन आयोजनाबाट २७० मेगावाट बिजुली बिक्री गरेर सो रकम बराबर लाभांश पाउने कम्पनीका प्रवन्ध सञ्चालक दामोदरभक्त श्रेष्ठले बताए । उनका अनुसार यी आयोजना आउँदो ३ वर्षदेखि बिजुली उत्पादन गर्नेछन् ।

आयकर (कर्पोरेट ट्याक्स) का कारण केही वर्ष सेयरधनीलाई दिने लाभांश घटेपनि ४ वर्षपछि आयोजनाले बिजुली उत्पादन गरेको वर्षदखि वर्षेनी १ अर्ब रुपैयाँको हाराहारीमा लाभांश प्राप्त गर्ने उनको भनाई छ । बैकको कर्जा घट्दै गएपछि लाभांश बढ्दै जाने उनको भनाई छ । “पहिलो वर्ष चिलिमेको समेत गरी १ अर्ब रुपैयाँ हाराहारीमा लाभांश पाउने अनुमान गरिएको छ” उनले भने ।

सरकारले जलविद्युत आयोजनालाई १५ वर्षसम्म आयकर छुट दिएको छ । चिलिमेको आयकर छुट सुविधा यो वर्षदेखि सकिदै छ ।
आगामी आर्थिक वर्षदेखि सरकारलाई आयकर बुझ्नुपर्ने भएपछि आम्दानी घटेर यसको असर लाभांशमा परेपनि केही वर्षपछि सहायक कम्पनीबाट प्राप्त हुने लाभांशले सेयरधनीलाई दिने प्रतिफल बढ्ने उनको भनाई छ । आगामी वर्षदेखि कम्पनीले नाफाको २० प्रतिशत आयकर तिर्नुपर्ने छ । चिलिमेको नाफा ९० करोड रुपैयाँ छ ।

चिलिमेले आगामी आर्थिक वर्ष ०७५/०७६ देखि संचित कोषमा रहेको ५ अर्ब २१ करोड ५३ लाख रुपैयाँ बोनस सेयरको रुपमा वितरण गर्ने भएको छ । कम्पनीले संचित कोषको रकम एकैपटक नभई वर्षेनी १५ प्रतिशतका दरले सेयरधनीलाई बोनस सेयरको रुपमा लाभांश दिने छ ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४४ करोड ७९ लाख रुपैयाँ छ । चिलिमेले आव ०६०/०६१ देखि बिजुली उत्पादन थालेको हो । चालु आवमा गरेको नाफाबाट मात्र चिलिमेका सेयरधनीले राम्रो लाभांश पाउने छन् । चालु आवमा पनि चिलिमेको लाभांशमा गिरावट आएर २५ प्रतिशतमा झरेको छ । चिलिमेले ४० प्रतिशतसम्म लाभांश दिएको छ ।

५८५ मेगावाटको दुई आयोजना बनाउने

चिलिमेले सहायक कम्पनीमार्फत ५८५ मेगावाट क्षमताका २ ठुला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । चिलिमेलाई ऊर्जा मन्त्रालयले ४२० मेगावाटको बुढीगण्डकी प्रोक र १६५ मेगावाटको बझाङमा रहेको सेती नदी ३ जलविद्युत आयोजनाको सर्वेक्षण गर्न अनुमतिपत्र (लाइसेन्स) दिएको हो ।

चिलिमेले अध्ययन गरेपछि आयोजनाको क्षमता विस्तार हुने छ । आयोजना अन्य ४ वटा आयोजनाको जस्तै सहायक कम्पनी बनाएर निर्माण गरिने श्रेष्ठले जानकारी दिए । यस्तै, चिलिमेले टावर निर्माण गर्ने भएको छ ।

 

Share News