पाल्पा । रामपुरका रुद्रनारायण श्रेष्ठले चाउचाउ उद्योगबाट अहिले मनग्य आम्दानी गर्दै आएका छन्।
एक दशक अगाडिदेखि रामपुरमा कालिका सिन्के चाउचाउ उद्योग शुरु गरेका श्रेष्ठले चाउचाउ बिक्रीबाट मासिक दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका हुन् ।
समाजमा सफल र प्रतिष्ठित उद्योगीका रुपमा उनी चिनिन्छन् । रामपुरको बजार बढ्दै गएपछि अहिले सोचेभन्दा राम्रो व्यापार हुन थालेको उनको भनाइ छ । यहाँ उत्पादित चाउचाउ पाल्पा, स्याङ्जा र तनहुँका स्थानीय बजारमा खपत हुँदै आएको छ । उनले व्यवसाय बढाउँदै जाँदा अहिले यस क्षेत्रमा बाहिरबाट चाउचाउ भित्रने क्रममा कमी आएको छ ।
“दैनिक पाँच क्विन्टलसम्म चाउचाउ बिक्री हुन्छ,” उनले भने । चाउचाउ उद्योगमा अहिले १० जनाले रोजगारीसमेत पाएका छन् । उनी भन्छन्, “विदेशको मरुभूमिमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर आफ्नो पेशा व्यवसायमा निरन्तररुपमा लागे महिनामा लाखौँ रुपैयाँ कमाउन सकिन्छ ।” उनी सामाजिक कार्यमा समेत निकै सक्रिय छन् ।
शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुर बजारमा आफ्नो उत्पादन पुर्याउन उनलाई हम्मेहम्मे परेको छ । उद्योगी श्रेष्ठले जस्तै विदेश जान लागेका युवाले उद्यम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ । रासस