काठमाडौं । १५ औं हस्तकला व्यापार मेला सकिएको छ । मंगलबार सम्पन्न भएको मेलामा ८ करोड ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल हस्तकला व्यापार मेला समितिका संयोजक धर्मराज शाक्यले जानकारी दिए ।

यसअघि मेलामा १० करोड भन्दा बढी कारोबार हुने अनुमान गरिएको थियो । मेलामा लक्ष्यभन्दा १ करोड ५० करोड कम कारोबार भएको शाक्यले बताए ।
नेपाल हस्तकला महासंघको आयोजनामा गत मंसिर १ गतेदेखि मेला सुरु भएको थियो । मेलामा ३ करोड भन्दा बढीको सामान बुकिङ भएको छ भने १ लाख ८ हजार जनाले अवलोकन गरेका छन् ।
शाक्यले समापन कार्यमा मन्तव्य दिँदै हस्तकला क्षेत्रले आर्थिक विकासको क्रममा निर्यात व्यापारमा अग्रणी भूमिकाको साथै रोजगारी सिर्जनाद्वारा गरिबी निवारणको क्षेत्रमा खेलेको बताए ।
सो क्रममा उनले महासंघको अभिलेख अनुसार गत आर्थिक वर्षमा हस्तकला निकासी करीब ५ अर्ब बराबरको रहेको बताए । उनका अनुसार चालू आवको प्रथम चौमासिकमा तथ्यांकले यस वर्ष हस्तकलाका वस्तुहरुको निर्यात वृद्धि हुने संकेत देखाएको छ ।
मेलामा उत्कृष्ट प्याभिलियन तर्फ फेयर ट्रेड ग्रुप नेपाललाई १ लाख रुपैयाँ बराबरको पूरस्कार प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट स्टलमा फिंगर प्रिन्ट आर्ट एण्ड क्राफ्ट्सलाई दिइएको थियो ।
परम्परामा आधारित समसामयिक वस्तु, होम डेकोर (टेक्सटाईल, सेरामिक, ऊनीजन्य वस्तु) र फेशन एसेसरिज र गरगहना तर्फ प्रथममा नेपाल बनकी श्रिभूषण मानन्धर, दोस्रोमा सबाह नेपाल र तेस्रोमा नेपलिज डि कलेक्सनकी मिनु बज्राचार्य सम्मानित भएका छन् ।
त्यस्तै परम्परागत विधातर्फ बीरेन्द्र चित्रकार, पुनम कुमारी दास र नरेन्द्र चौधरी पूरष्कृत भएका छन् । समकालिन विधामा ज्ञान कुमारी शाक्य, श्री कुमारी चौधरी र अम्बीका सिन्चुरी बिकेलाई सम्मान गरिएको छ ।
महासंघका अनुसार हस्तकला क्षेत्रमा करीब १२ लाख व्यक्ति प्रत्यक्ष तथा प्रत्यक्षरुपमा आबद्ध छन् ।