काठमाडौं । अदालतले मागेको धरौटी बुझाउन नसकेपछि कर फर्छ्यौट आयोगका पुर्वअध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई हिरासतमा पठाइएको छ ।

विशेष अदालतले मंगलबार जनही १ करोड रुपैयाँ धरौटी माग गरेपछि बुझाउन नक्दा उनीहरुलाई हिरासतमै राखिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि फरार रहेका महत र ढकाल कात्तिक २९ गते अदालतमा उपस्थित भएका थिए।
अख्तियारले गत साउनमा तीन पदाधिकारीविरुद्द १० अर्ब २ करोड बिगोदाबी गर्दे बिशेष अदालतमा मुद्दा दायर गरेको थियो। झण्डै २१ अर्ब रुपैयाँ कट छुट दिई राज्यलाई अर्बो रुपैयाँ नोक्सान पारेको भन्दै आन्तरिक राजश्व विभागमा महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेपछि दुबै जना फरार भएका थिए ।
कर फच्छौट आयोगले साढे ९ अर्ब रुपैयाँ कर निर्धारण गरी साढे २० अर्ब रुपैयाँ मिनाह गरेपछि महालेखा परीक्षकको कार्यलयले गम्भीर आपत्ति जनाएर वार्षिक प्रतिवेदनमा आर्थिक अनियमितता भएको ठहर गरेपछि अख्तियारले अनुसन्धान थालेको हो ।