काठमाडौं । ७० हजार ८ सय ८५ परिवार भूकम्प पीडित नयाँ घरमा सरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार मंसिर ३ गतेसम्ममा ९.२३ प्रतिशत भूकम्प पीडितले नयाँ घर निर्माण सम्पन्न गरेका हुन् । प्राधिकरणका अनुसार १ लाख ६५ हजार ८ सय ९९ वटा घर हाल धमाधम निर्माण भैरहेका छन् ।

प्राधिकरणले ७ लाख ६७ हजार ७ सय ५ परिवारलाई लाभग्राही सूचिमा राखेको थियो । प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा गरेको पुर्नजाँच तथा पुनःसर्वेक्षणबाट थप १ लाख २६ हजार ३ सय २६ घरधनीहरुको तथ्याङ्क काठमाडौंमा आईपुगेको छ ।
‘गत साउनमा ३ सय ३२ जना इन्जिनियरलाई सर्वेक्षणमा छुटेका तथा पुनःजाँच गर्नुपर्ने १ लाख ३० हजार धरधनी घरहरुको तथ्याङ्क संकलन गर्न खटाएका थियौं, अहिलेसम्म २ सय ५० इन्जिनियरले रिपोर्ट तयार पारिसकेका छन्, बाँकी रिपोर्ट आउँदा १ लाख ४० हजार परिवार पुग्छन’, प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले भने ।
प्राधिकरणका प्रवक्ता यमलाल भुषालका अनुसार त्यसरी आएका तथ्यांकहरुलाई प्राधिकरणले अध्ययन गरेर लाभग्राहीको पहिचान गर्नेछ । ‘स्थानीय तहको सिफारिसमा इञ्जिनियरहरुले तयार पारेको रिपोर्ट आउने क्रम जारी छ, ती रिपोर्टहरुका आधारमा लाभग्राहीको पहिचान गर्छाै’, प्रवक्ता भुषालले भने ।
लाभग्राही सूचिमा समावेश भएपछि अनुदान सम्झौता गरि तीन लाख अनुदान दिइनेछ भने आंशिक क्षति पुगेका घरधनीलाई प्रवलीकरणको सूचिमा राखेर एक लाख उपलब्ध गराइनेछ । यस अघि प्राधिकरणले गुनासो दर्ता गराएका २५ हजार भूकम्प पीडितलाई लाभग्राही सूचिमा समावेश गरेर घर निर्माणका लागि ३ लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
‘पहिले गुनासो लिएर पुरानै रिपोर्ट अध्ययन गरेका थियौं, अहिले चाँही इञ्जिनियरलाई फिल्डमै पठाएर पुनः जाँच गराएका हौं’, भुषालले भने । जोखिम पुर्ण भूगोलमा रहेका भूकम्प पीडितहरुलाई पहिलो चरणमा घडेरी खरिदका लागि २ लाख नगद दिने कार्यक्रम अघि बढेको पनि उनले जानकारी दिए । त्यसका लागि आवश्यक रकम जिल्ला जिल्लामा पठाईसकिएको र जिल्लाबाट त्यस्तो रकम वितरण हुने प्रवक्ता भुषालले बताए ।