काठमाडौं । नाफा बढाउने प्रतिष्पर्धामा रहेका बाणिज्य बैंकहरु खराब कर्जा घटाउने प्रतिष्पर्धामा पनि कडा रुपमा उत्रिएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सबैभन्दा कम निष्क्रिय कर्जा नेपाल एसबीआई बैंकले कायम गरेको छ । एसबीआईको निष्क्रिय कर्जा ०.१३ प्रतिशत मात्र छ । यद्यपी गत आर्थिक वर्षको असारमा बैंकको यस्तो कर्जा ०.१० प्रतिशत मात्र थियो ।
एसबीआईपछि कम निष्क्रिय कर्जा हुनेमा सानिमा बैंक दोश्रो नम्बरमा रहेको छ । सानिमाको निष्क्रिय कर्जा ०.१४ प्रतिशत छ । यद्यपी यसघि बैंकको यस्तो कर्जा ०.०५ प्रतिशत मात्र थियो । खराब कर्जा न्युन राख्ने प्रतिष्पर्धामा बैंकहरु लागिपरेको भएपनि अधिकांश बैंकको खराब कर्जा भने बढेकै देखिन्छ ।
स्ट्यान्डर्ड चाटर्ड बैंकको निष्क्रिय कर्जा ०.१८, एभरेष्ट बैंकको ०.२६, एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा ०.२९ प्रतिशत मात्र रहेका छ । १ प्रतिशत भन्दा कम निष्क्रिय कर्जा हुने अन्य बैंकमा माछापुच्छ्रेको ०.४५,नेपाल बंगलादेशको ०.७३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।
चालु आवको पहिलो त्रैमाशमा सबैभन्दा बढी निष्क्रिय कर्जा सिभिल बैंकको छ । सिभिलको कर्जा बढेर ४.६९ प्रतिशत पुगेको छ । गत असारमा बैंकको निक्रिय कर्जा ४ प्रतिशत मात्र थियो । ३ महिनामा बैंकको कर्जा ०.६९ प्रतिशत बढेको छ । यस्तै नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको निष्क्रिय कर्जा ४.२९ प्रतिशत छ । प्रभु बैंकको ४.२३ प्रतिशत छ । ४ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा हुनेमा सिभिल र एनसीसी र प्रभु बैंक मात्र छन् ।
यस्तै सरकारी स्वामित्वका कृषि विकास बैंकको ३.५४, राष्ट्रिय वाणिज्य बैंकको २.९२ र नेपाल बैंकको ३.४२ प्रतिशत छ । कुमारी बैंकको १.९७, लक्ष्मी बैंकको १.७८, नेपाल इन्भेष्टमेन्ट बैंककको १.०४, सिद्धार्थ बैंकको २, हिमालयन बैंकको १.२४, एनएमबी बैंकको १.६७, जनता बैंकको १.८५, नविल बैंकको १.११, सिटिजन्स बैंकको १.९९ प्रतिशत रहेको छ ।
यसैगरी प्राइम कमर्शियल बैंकको १.३७, मेगा बैंकको १.६७, ग्लोबल आइएमईको १.५७, सेन्चुरी बैंकको १.७०, सनराइज बैंकको १.४९ र बैंक अफ काठमाण्डुको २ प्रतिशत रहेको छ । ५ प्रतिशत बढी निष्क्रिय कर्जा भएका बैंक तथा वित्तीय संस्थालाई जोखिमयुक्त मानिन्छ । हाल सञ्चालनमा रहेका बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत तल रहेको छ । बैंक तथा वित्तीय संस्थाको जोखिम कम हुदै गएको देखिन्छ ।
कर्जा दिने बेला ग्राहहको छनौट, नियमन र अनुगमन निरन्तर गर्दा निष्क्रिय कर्जा कम हुने सानिमाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल बताउछन् । निष्क्रिय कर्जा घटाउन बैंकलाई दवाव बढेको उनी बताउँछन् ।