बीपीसीमार्फत २ खर्ब चीनियाँ लगानी नेपाल आउदै, ५ वर्षमा १ हजार मेगावाट बिजुली उत्पादन हुने

<p>काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) मार्फत नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब बढी (२ अर्ब डलर) वैदेशिक लगानी आउने भएको छ । जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर कम्पनी स्थापना भएको छ । कम्पनीका दर्ता बुधबार नै भएको [&hellip;]</p>

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) मार्फत नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब बढी (२ अर्ब डलर) वैदेशिक लगानी आउने भएको छ ।

जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर कम्पनी स्थापना भएको छ । कम्पनीका दर्ता बुधबार नै भएको छ । होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २०, चीनको एसजीआईको ६५ र १५ प्रतिशत क्युवाईईसी बेटरसिटीका स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ । होल्डिङस कम्पनीमा बीपीसीले ३९ करोड रुपैयाँ लगानी गर्नेछ ।

हकप्रद सेयर निष्कासन र संचित कोषमा भएको रकम होल्डिङ कम्पनीमा लगानी गर्ने बीपीसीका अध्यक्ष पद्म ज्योतिले बताए । पहिलो चरणमा कम्पनी १ सय मेगावाटको तल्लो मनाङमर्स्र्याङदी आयोजना निर्माण गर्ने भएको छ । बीपीसीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ ।

संयुक्त लगानीको कम्पनीले नेपालमा अर्धजलासययुक्त आयोजना (पीआरओर) मा जोड दिने भएको छ । यस्तै सरकारले तोकेको मापदण्डअनुसार कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने उनले जानकारी दिए ।
चीनको प्रान्तीय सरकार अन्र्तगतका कम्पनी मध्ये एउटा जलविद्युत र बाँकी रियलस्टेटलगायत अन्य क्षेत्रमा लगानी रहेको छ । १ वर्ष लामो मेहनतपछि चीनियाँ लगानीमा संयुक्त कम्पनी स्थापना गरिएको ज्योतिले सो अवसरमा जानकारी दिए ।

बीपीसीले हाल ६७ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाको एकैपटक निर्माण सुरु गरेको छ । हाल बीपीसीले ३७. ६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सुरु गरेको हो । दुवै आयोजना आगामी सन् २०२० मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । कावेली बनाउन करिब १० अर्ब र न्यादीमा ६ अर्ब रुपैयाँ लाग्नेछ ।

कावेलीमा विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त कर्पोरेशन (आईएफसी) को ऋण लगानी छ । यस्तै, न्यादीमा एभरेष्ट बैंकको अगुवाइमा ऋण लगानी भएको छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ ।

दुई आयोजना बनाउका लागि लगानी जुटाउन बीपीसीले ४० लाख ८१ हजार कित्ता थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्यमा उसले एफपीओ ल्याउन लागेको हो । यो दरमा एफपीओ निश्कासन अनुमति पाए कुल २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को नाफा २३५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोजसम्म बीपीसीले ७ करोड २२ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

 

Share News