काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ अब एक किलोमिटर भन्दा कम मात्रै खन्न बाँकी रहेको छ । मेलम्ची खानेपानी आयोजना विकास बोर्डका इञ्जिनियर रमाकान्त दुवाडीका अनुसार मेलम्चीको सुरुङ खन्न अब ९९८ मिटर मात्रै बाँकी रहेको छ । हाल दैनिक १६।१७ मिटरको औषतमा सुरुङ खन्ने काम भैरहेको छ । २७.५ किलोमिटर लामो सुरुङ ९६.३७ प्रतिशत खनिसकिएको हो ।

अम्बाथान–ग्याल्थुमको माथिल्लो खण्डमा ३५४ मिटर सुरुङ खन्न बाँकी रहेको छ । यसको ब्रेक थ्रु यहि डिसेम्बर महिनामा हुनेछ । ग्याल्थुम–सिन्धु खण्डमा ६४४ मिटर सुरुङ खन्न बाँकी रहेको छ जसको ब्रेक थ्रु जनवरी महिनामा हुनेछ ।
आयोजनाले चैतको अन्तिम साता राजधानीबासीका धारामा पानी उपलब्ध गराउने योजना बनाएको थियो । अब नयाँ बर्षमा राजधानी बासीका धारामा मेलम्चीको पानी आइपुग्नेछ । ‘चैतको अन्तिम साता पानी ल्याइसक्ने योजना थियो, सोच अनुसार काम अघि बढ्यो भने नयाँ बर्षमा राजधानीबासीलाई मेलम्चीको पानी उपहार दिइनेछ’, इञ्जिनियर दुवाडीले भने ।
सुरुङ ब्रेक थ्रु भएको तीन महिनामा सुरुङ फिनिसिङको काम सम्पन्न हुनेछ । हाल सुरुङ फिनिसिङका लागि १० वटा ट्रान्जिट मिक्सचर भारतबाट ल्याइँदैछ । ती मिक्सचरले सुरुङ भित्रै फिनिसिङका लागि मिक्सिङ गर्न सक्नेछन् । सुन्दरी जलमा ८ करोड ५० लाख लिटर क्षमताको पानी प्रसोधन केन्द्रको सफल परिक्षण सम्पन्न भैसकेको छ । उपत्यकामा पाइप तथा धारा जडानको काम पनि अन्तिम चरणमा पुगिसकेको छ ।