काठमाडौं । कमोडिटिज मार्केट्स कार्यान्वयनमा नेपाल धितोपत्र बोर्ड तातेको छ । बोर्डले कमोडिटिज मार्केट्स नियमनका लागि वस्तु विनियम सम्बन्धी ऐन, २०७४ सँगै वस्तु विनिमय बजार सम्बन्धी नियमावली समेत कार्यान्वयनमा ल्याएको हो ।

वस्तु बजार सम्बन्धी ऐनमा भदौ ११ गते लालमोहर लागेको थियो । लालमोहर लागेको ९१ औं दिनदेखि ऐन कार्यान्वयनमा आउने व्यवस्था थियो । सोही व्यवस्था अनुसार बोर्डले ऐन कार्यान्वयनमा आएको दिन अर्थात मंसिर ९ गतेदेखि नै विनियमावली समेत कार्यान्वयनमा ल्याएको हो ।
‘ऐन आएसँगै विनियमावली पनि कार्यान्वयनमा आएको छ, अब वस्तु विनिमय बजार नियमनको दायरामा आएको छ’, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पत्रकार सम्मेलनमा भने ।
उनले हाल काम गरिरहेका वस्तु विनिमय सम्बन्धी कम्पनी अबैध भएको बताए । ‘अहिले काम गरिरहेका कम्पनीहरु अबैध भए, उनीहरुलाई हाल कायम गरेको कारोबारलाई करार ऐनले हेर्छ र अब नयाँ काम गर्न पाउँदैन, त्यसका लागि बोर्डबाट अनुमति लिनुपर्छ’, बोर्डका अध्यक्ष कार्कीले भने ।
बोर्डले केहि दिनभित्रै वस्तु विनियम कम्पनी सञ्चालनका लागि दरखास्त आव्हान गर्ने तयारी अघि बढाएको पनि उनले जानकारी दिए । अनुमति पाएको १८० दिनमा त्यस्ता कम्पनीहरुले आवश्यक पुर्वाधार खडा गरिसक्नुपर्नेछ । उनले हाल सेवा सञ्चालन गरिरहेका कम्पनीहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन र थप कारोबार नगर्न पत्राचार गरिसकेको पनि जानकारी दिए ।
बोर्डले वेयर हाउस सञ्चालनका लागि १५ करोड, राफसाफ तथा फछ्र्याेट व्यवसाय सञ्चालनका लागि ७ करोड, लगानी व्यवस्थापकका लागि ५ करोड, लगानी परामर्श दाताका लागि १ करोड र वस्तु कारोबार दलालका लागि ५० लाख चुक्ता पुँजी तोकेको छ । ती कम्पनीहरुमा एउटै व्यक्तिले ५ प्रतिशत भन्दा बढि लगानी गर्न भने पाउने छैनन् भने सेयर लिएको तीन बर्षसम्म बिक्रि गर्न नपाउने व्यवस्था रहेको छ ।