यसरी फिनिसिङ हुँदैछ मेलम्चीको सुरुङ, १० वटा एजाक्स फिओरी बोर्डरमा

<p>काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा २७.५ किलोमिटर सुरुङ छ र त्यो मध्ये २६.६५२ किलोमिटर खन्ने काम सकिएको छ । अब जम्मा ९३२.५ मिटर सुरुङ मात्रै खन्न बाँकी छ । २०७५ सालको नयाँ बर्षमा राजधानी बासीलाई मेलम्चीको पानी उपहार दिने योजनासहित धमाधम काम गरिरहेको आयोजनाले सुरुङ फिनिसिङका लागि १० वटा आधुनिक मेसिन मगाएको छ । ती [&hellip;]</p>

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा २७.५ किलोमिटर सुरुङ छ र त्यो मध्ये २६.६५२ किलोमिटर खन्ने काम सकिएको छ । अब जम्मा ९३२.५ मिटर सुरुङ मात्रै खन्न बाँकी छ । २०७५ सालको नयाँ बर्षमा राजधानी बासीलाई मेलम्चीको पानी उपहार दिने योजनासहित धमाधम काम गरिरहेको आयोजनाले सुरुङ फिनिसिङका लागि १० वटा आधुनिक मेसिन मगाएको छ । ती मेसिनहरु हाल नेपाल भारत बोर्डरमा आईपुगेका छन् ।

एजाक्स फिओरी कम्पनीका ती मेसिनहरुले मेलम्चीको सुरुङमै पसेर फिनिसिङको काम गर्न सक्नेछन् । मेलम्ची आयोजनाका उप कार्यकारी निर्देशक रमाकान्त दुवाडीका अनुसार सुरुङ फिनिसिङका लागि ति मेसिनहरुले बालुवा, गिट्टी र सिमेन्टको खोल भित्रै लिएर जानेछन् । ‘सुरुङ फिनिसिङका लागि आवश्यक पर्ने बालुवा, गिट्टी र सिमेन्टलाई घोल्दै ती मेसिनहरु सुरुङ भित्रै पुग्नेछन र दिनमा २ सय मिटर काम गर्न सकिनेछ’, दुवाडीले भने । ती मेसिनहरुले ३ घनमिटरको बालुवा, गिट्टी र सिमेन्ट घोल्ने क्षमता राख्दछन् ।

मेलम्चीको सुरुङको चौडाई ३.५ मिटर र उचाई ४ मिटर रहेको छ । एक साताभित्रै आयोजनाले सिन्धु देखि सुन्दरीजलसम्मको ९.५ किलोमिटरमा फिनिसिङको काम थाल्नेछ । इञ्जिनियरिङ भाषामा सुरुङ फिनिसङको कामलाई इन्भर्ट लाइनिङ भनिन्छ । हालसम्म जम्मा २ किलोमिटर सुरुङमा मात्रै फिनिसिङको काम सकिएको छ । सुरुङ फिनिसिङको बाँकी कामलाई तिब्रगतिमा अघि बढाउन ल्याउँदै गरिएको मेसिनलाई ट्राञ्जिट मिक्स्चर भनिन्छ । दैनिक २ सय मिटरका दरले सुरुङ फिनिसिङको काम अघि बाँकी काम सक्न करिब १३० दिन लाग्ने देखिन्छ ।

मेलम्ची खानेपानी आयोजनाले सुन्दरी जलमा ८.५ करोड लिटरको पानी प्रसोधन केन्द्र तयार पारिसकेको छ । त्यस्तै राजधानीमा पानी वितरणका लागि पाइप जडानको काम समेत अन्तिम चरणमा पुगिसकेको छ । मेलम्चीले दोश्रो चरणमा अघि बढाउन लागेको याङग्री र लार्के नदिको कामका लागि परामर्श दाता छनौट प्रक्रिाय पनि अघि बढाईसकेको छ । आयोजनाले ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर प्राबिधिक तथा वित्तिय प्रस्ताव मागेको छ ।

Share News