काठमाडौं । सरकारले अनावश्यक रुपमा सार्वजनिक विदा दिएको भन्दै निजी क्षेत्रले आपत्ति जनाएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रबलजंग पाण्डेले अपर्झट सार्वजनिक विदा दिँदा मुलुकको अर्थतन्त्रमा ठुलो क्षति पुग्ने बताए । उनले त्यस्ता विदाका कारण पुग्ने आर्थिक क्षतिको कस्ले मूल्यांकन गर्ने ? भन्दै प्रश्न समेत उठाएका छन् ।
नेपाल वित्त कम्पनी संघका अध्यक्ष समेत रहेका गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिृकत सरोजकाजी तुलाधारले विदाको आलोचना गरेका छन् । उनले गृह मन्त्रालयले विदा दिने सूचना निकालेको र राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था खोल्न निर्देशन दिएको आश्चर्य समेत प्रकट गरेका छन् ।
पुर्व
अर्थमन्त्री डा. रामशरण महतले केहि दिन अघि नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा नेपाल संसारमै धेरै सार्वजनिक विदा दिने मुलुक बनेको टिप्पणी गरेका थिए । उनले अनावश्यक रुपमा सार्वजनिक विदा दिन सरकारहरुले प्रतिष्पर्धा गर्दै आएको आरोप समेत लगाएका थिए ।
डा. महतले धेरै विदा दिने मुलुकहरुले प्रगति नगर्ने भन्दै विदा कटौती गरेर काम गर्ने दिन बढाउनुपर्ने बताए ।नेपाल चेम्बर अफ कमर्शले पनि केहि समय अघि विज्ञप्ति नै प्रकाशित गरेर अनावश्यक रुपमा सार्वजनिक घोषणा नगर्न भनेको थियो । सरकारले छठ पर्व सकिएको दिन पनि सार्वजनिक विदा घोषणा गरेपछि चेम्बरले आपत्ति जनाएको थियो ।
सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले पनि व्यापार बिरोध गरेका छन् । उनीहरुले देश विकासका लागि सार्वजननिक विदाहरु बाधक हुने पनि बताएका छन् ।